डोटी — डोटी जिल्लाका जङ्गलमा प्रचुर मात्रामा पाइने तर बेवारिसेझैँ खेर गइरहेको अल्लोलाई अब आम्दानीको स्रोत बनाउने प्रयास सुरु गरिएको छ। बडीकेदार गाउँपालिकासँगको सहकार्यमा पशुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले गाउँमै अल्लो प्रशोधन र कपडा उत्पादनको तालिम सञ्चालन गरेसँगै स्थानीय महिलाहरू यो काममा जुटेका छन्।
गाउँपालिका–४ काउलेबजारमा उद्यम विकास शाखाको आर्थिक सहयोग र जिआइजेडको प्राविधिक साथमा करिब २० लाख रुपैयाँको लगानीमा एक महिनाको तालिम सञ्चालन गरिएको हो। तालिमपछि महिलाहरूले अल्लो प्रशोधन गरी धागो उत्पादन गर्नुका साथै कपडा बुनेर विभिन्न सामग्री निर्माण गर्न थालेका छन्।
उद्यम विकास शाखाका प्रमुख भूपेन्द्रबहादुर बोहराका अनुसार गाउँपालिकाले आवश्यक उपकरण र तानलगायतका सामग्री उपलब्ध गराएपछि स्थानीय १५ जना महिलाले संयुक्त रूपमा उत्पादन कार्य थालेका छन्।
गाउँपालिका अध्यक्ष भैरव साउदका अनुसार पछिल्लो समय अल्लोबाट बनेको धागो र कपडाको माग बढिरहेकोले पालिकाले यो उद्योगमा आवश्यक सहयोग पुर्याएको हो। “हामीले कोट, टोपी, झोला, जुत्ता जस्ता सामग्री उत्पादनसम्बन्धी तालिम पनि दिएको छौं,” अध्यक्ष साउदले बताए।
उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लोको व्यावसायिक उत्पादन गर्दै यसको बजार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्। “यो कामलाई दीर्घकालीन रूपमा अघि बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजनामा हामी छौं,” उनले भनिन्।
स्थानीय उद्यमी तुल्सी बुढामगरले गाउँमै यस्तो काम सुरु भएपछि आम्दानीको नयाँ आधार बनिरहेको बताइन्। “हामी १५ जना महिलाहरूले तालिम र उपकरण पाएपछि यो काम थालेका हौं। अब यो हाम्रो लागि स्थायी आम्दानीको स्रोत बन्दैछ,” उनले भनिन्। साथै, दीगो व्यवस्थापन र बजार विस्तारका लागि सम्बन्धित निकायहरूबाट अझै बढी सहयोगको अपेक्षा राखिएको उनले जनाइन्।











