सिलगढी /जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार १६ वैशाख साँझ ५:४५ बजेदेखि हावाहुरी सुरु भई १७ वैशाख बिहान ७:४५ बजेसम्म प्रभाव रहने अनुमान गरिएको छ।
सूचनाअनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी लगायत आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले सकेसम्म घरबाहिर ननिस्कन, झ्याल–ढोका मजबुत रूपमा बन्द गर्न र जस्तालगायतका छाना कमजोर भए बलियो बनाउन सुझाव दिएको छ।
त्यसैगरी घरबाहिर आगो नबाल्न, कमजोर संरचना, अग्ला रुख तथा बिजुलीका खम्बा नजिक नबस्न र लत्रिएका तार नछुन पनि अनुरोध गरिएको छ।
विभागले मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना समेत रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।











