
कैलाली, — कैलाली जिल्लाको भजनी नगरपालिकामा चैते धानखेतीको विस्तार तीव्र गतिमा भइरहेको छ। विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका किसान कृष्ण चौधरीले पाँच कट्ठाबाट सुरु गरेको खेती अहिले तीन बिघामा पुर्याएका छन्। उत्पादन राम्रो हुनुका साथै बजारमा पनि समस्या नआएकाले चौधरीजस्ता सयौं किसान यसतर्फ आकर्षित भइरहेका छन्।
“मिहिनेत धेरै पर्छ, तर सिँचाइ सुविधा मिल्यो भने बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिन्छ,” किसान चौधरीले भने, “बजारमा सहजै बिक्री हुन्छ, त्यसैले किसान पनि ढुक्क छन्।”
भजनी क्षेत्र डुबानप्रवण भएकाले वर्षायाममा खेती गर्न कठिन हुने गरेको छ। यस्तो अवस्थाबीच चैते धान किसानहरूका लागि वैकल्पिक र भरपर्दो विकल्पका रूपमा स्थापित हुँदै गएको छ। “डुबानको कारण बर्खे बेला खेती हुन सक्दैन,” स्थानीय बलदेव चौधरीले भने, “अब त चैते धान नै मुख्य बाली बनेको छ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनीमा धान जोन स्थापना गरेर चैते धान विस्तारको कार्यक्रम सञ्चालन गर्दै आएको छ। परियोजनाका प्रमुख गोविन्दराज जोशीका अनुसार यस वर्ष कैलालीका विभिन्न पालिकाहरूमा एक हजार हेक्टर क्षेत्रफलमा चैते धान विस्तार गरिएको छ। केवल भजनीमै ८० प्रतिशत खेती भएको बताइएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टका अनुसार यस वर्ष जिल्लामा करिब १,५०० हेक्टरमा चैते धानखेती भएको छ, जुन अघिल्लो वर्षभन्दा ३०० हेक्टरले बढी हो। “धान सुकाउने र भित्र्याउने मेसिनमा पनि अनुदान दिइरहेका छौं,” विष्टले बताए।
यसैबीच, सरकारले पहिलोपटक चैते धानको प्रतिक्विन्टल २,८००.६९ रुपैयाँ समर्थन मूल्य तोकेको छ। यस निर्णयले किसानहरूलाई अझ उत्साहित बनाएको छ। “पहिले व्यापारीले जे दिन्थ्यो त्यही मूल्यमा बेच्नुपर्ने हुन्थ्यो,” किसान कल्लु डगौराले भने, “अब भने राज्यबाट मूल्य निर्धारण भएपछि उत्पादन बढाउने हौसला मिलेको छ।”
स्थानीय सरकार (भजनी नगरपालिका) ले यस वर्ष यस क्षेत्रमा छुट्टै कार्यक्रम नराखे पनि प्राविधिक सहयोग भने उपलब्ध गराइरहेको जनाएको छ। कृषि शाखा प्रमुख सुशोभन अधिकारीका अनुसार, चालु आर्थिक वर्षमा मात्र भजनी नगरपालिकाभित्र १,००० हेक्टरभन्दा बढी क्षेत्रमा चैते धान रोपिएको छ।