
अछामः चिसापानी-जंगलघाट–बडीमालिका सडक स्तरोन्नति तीव्र, पहिलो चरणको कालोपत्रे कार्य भैरहेकाे छ ।
सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना मानिएको चिसापानी–जंगलघाट–बडीमालिका सडक स्तरोन्नति आयोजना अन्तर्गत निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
यस आयोजनाअन्तर्गतको गैरिटाँड–कमलबजार–बाँसकाँडा खण्डको २३ किलोमिटर सडक खण्डमा पहिलो चरणको कालोपत्रे कार्य भइरहेको हो।
यो सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय र पिके निर्माण सेवा प्रालि बीच ६९ करोड ४३ लाख ५३ हजार रुपैयाँको लागतमा २०८० असार १८ गते सम्झौता भएको थियो। सम्झौता अनुसार काम २०८२ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पिके निर्माण सेवा प्रालिका प्रमुख प्रकाश विश्वकर्माका अनुसार, “ठेक्का अवधि भित्रै कार्य सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण कार्य अगाडि बढाइएको छ।”
स्थानीय व्यवसायी कर्ण भण्डारीले सडक कालोपत्रे कार्य अघि बढेपछि हिउँदमा धुलो र बर्खामा हिलोबाट मुक्त हुने अपेक्षा व्यक्त गरे।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले यो सडक अछामलगायतका जिल्लालाई तराईसँग जोड्ने छोटो मार्ग भएकाले कालोपत्रे भएपछि विकासको ढोका खुल्ने विश्वास व्यक्त गरे। साथै, स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय जारी रहेको जानकारी दिए।
यस्तै, चिसापानी–जंगलघाट–मङ्गलसेन सडक सञ्जालसँग अछामलाई थप सघन रूपमा जोड्नका लागि सुर्खेतको पञ्चपुरी र अछामको तुर्माखाँद गाउँपालिका सीमास्थित कर्णाली नदीमाथि पक्की पुल निर्माण कार्य पनि जारी रहेको छ।