
बाजुरा — बाजुराको सदरमुकाम मार्तडीबाट बडीमालिका, खप्तड, नाटेश्वरी, बुढीनन्दा लगायतका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा जान दूरी छोटो हुने भएकाले बडीमालिका नगरपालिका–९ स्थित कवल्टामा विमानस्थल निर्माण गर्नु अत्यन्तै आवश्यक रहेको स्थानीयले बताएका छन्।
बाजुराको भौगोलिक विकटता र यहाँका नागरिकको लामो समयदेखिको मागअनुसार यदि कवल्टामा विमानस्थल निर्माण गरिएमा त्यहाँबाट धनगढी, काठमाडौं, नेपालगञ्जसम्मको हवाई यात्रा सहज हुने विश्वास स्थानीयको छ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कवल्टा क्षेत्रको प्रत्यक्ष स्थलगत अनुगमन गरेका छन्। उनका अनुसार कवल्टा बडीमालिका जननीमाताको नजिकै रहेको छ र सदरमुकाम मार्तडीबाट करिब दुई घण्टामा बडीमालिका मन्दिर पुग्न सकिन्छ। त्यसैले धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो क्षेत्रमा विमानस्थल निर्माण गर्नु अपरिहार्य भएको पाध्याले बताए।
उनले भने, “बाजुरा जिल्लालाई धार्मिक तथा पर्यटकीय हवाई मार्गमार्फत प्रवर्द्धन गर्न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न विमानस्थल निर्माणले ठूलो भूमिका खेल्नेछ।”
नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालले पनि कवल्टामा विमानस्थल निर्माण भए बाजुरा क्षेत्र नं. २ का नागरिकलाई सहज हुने बताए। उनले बडीमालिका नगरपालिकाको नगरप्रमुख रहँदा कवल्टा विमानस्थललाई नीति तथा कार्यक्रममा समावेश गरेको उल्लेख गरे। “मैले यस योजनाको पहलकदमीका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्दै आएको छु,” उनले भने।
जिल्ला अस्पताल र सदरमुकाम मार्तडीसमेत कवल्टा क्षेत्रसँग नजिक भएकाले पनि यहाँ विमानस्थल निर्माण अत्यावश्यक भएको स्थानीयको भनाइ छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको समन्वयमा प्राविधिक टोली कवल्टा क्षेत्रमा स्थलगत सम्भाव्यता अध्ययनका लागि पुगेको हो।
बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले कवल्टामा विमानस्थल बने स्थानीय पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
बडीमालिका नगरपालिका–९ का स्थानीय लोकेन्द्र बहादुर हमालले विमानस्थल बनेपछि अत्यावश्यक सेवाबाट वञ्चित रहेका स्थानीय नागरिकले सेवा पाउने बताए। “आवश्यक बिरामीहरूलाई हवाईमार्गबाट अन्यत्र लैजान सहज हुनेछ,” उनले भने।
त्यस्तै, सोही वडाका अर्का स्थानीय दिर्घराज उपाध्यायले विमानस्थल सम्भाव्यता अध्ययन सुरु भएकोमा आफूहरू अत्यन्त उत्साहित भएको बताए। “अब मात्र सम्भाव्यता अध्ययनमा सीमित नरही, विमानस्थल निर्माणको मापदण्डअनुसार काम तुरुन्त अघि बढ्नुपर्छ भन्ने हाम्रो माग हो,” उनले जोड दिए।