
डोटी, चैत्र ३० गते – ढाेटीमा चट्याङबाट पिडित परिवारलाई सायल गाउँपालिकाले राहत दिने घोषणा गरेको छ। सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको बुधबार राति चट्याङ लागेर निधन भएको हो।
गाउँपालिका अध्यक्ष धर्म जोशीका अनुसार मृतकको परिवारलाई तत्कालीन राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट चाँडै गर्ने जनाएको छ । चट्याङले ज्यान लिएको घटनामा कमलाका छोराछोरीसहित ७ जना घाइते भएका छन्। तीमध्ये केही सामान्य घाइते छन् भने सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
कमलाको निधनपछि उनका पाँच बालबालिका, जसमा तीन महिने शिशु पनि छन्, आमा विना अलपत्र परेका छन्। गाउँपालिका अध्यक्ष जोशीले पीडित परिवारलाई थप आवश्यक सहयोग उपलब्ध गराउन पनि पहल भइरहेको जनाएका छन्।