
काठमाडौं, चैत २५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा मुख्य कार्यक्रम गर्ने तयारी गरिएको र त्यसका लागि प्रशासनबाट अनुमति लिइसकेको राप्रपाले जनाएको छ। सो दिन नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने तथा सहकारी तथा लघुवित्त पीडित समूहले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले राजधानीका विभिन्न स्थानमा ट्राफिक व्यवस्थापनमा परिवर्तन गरिएको छ।
महानगरीय ट्राफिक महाशाखाले सोमबार सूचना जारी गर्दै सवारी आवागमन सहज बनाउन आवश्यक ट्राफिक डाइभर्सनको व्यवस्था गरिएको जनाएको छ। डाइभर्सन हुने मुख्य मार्गहरूमा खसिबजार–मकालु–कलंकी–बाफल, बल्खु–कुलेश्वर–कालीमाटी–टेकु,
कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना लगायत छन्। यस्तै, आवश्यक परेमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर क्षेत्रमा पनि ट्राफिक डाइभर्सन गरिनेछ।
प्रदर्शनमा सहभागी सवारी साधनका लागि टियू गेटदेखि चोभार सडक, सानेपा करिडोर (दुबैतर्फ), चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला–बाफल सडक खण्डको एक लाइनमा पार्किङको व्यवस्था गरिएको छ। ट्राफिक प्रहरीले प्रदर्शनका कारण प्रभावित हुने सडक प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ।