
काठमाडौं, चैत २६ —
आज देशभर विभिन्न कार्यक्रमहरूमार्फत ३५औं जनआन्दोलन दिवस मनाइँदैछ। विसं २०४६ सालको यही चैत २६ गते ३० वर्षे पञ्चायती शासनको अन्त्य गर्दै नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरिएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
वि.सं. २०१७ पुस १ गते सुरु भएको पञ्चायती शासन तत्कालीन राजा वीरेन्द्रद्वारा वि.सं. २०४६ चैत २६ गते अन्त्य गरिएको थियो। त्यस अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजा वीरेन्द्रले दलमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका थिए। यसैका साथ मुलुकले पुनः बहुदलीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेको हो।
नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चासँग सहकार्य गर्दै सञ्चालन गरिएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो। आन्दोलनको अगुवाइ कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए। यस आन्दोलनले सिंगो राष्ट्रमा नागरिक चेतनाको नयाँ लहर ल्याएको थियो।
जनआन्दोलनको सुरुवात वि.सं. २०४६ फागुन ७ गते भएको थियो, जुन दिनलाई वि.सं. २००७ फागुन ७ गतेको पहिलो प्रजातान्त्रिक विजयको सम्झनामा रोजिएको थियो। त्यस दिनदेखि सुरु भएको जनलहरले अन्ततः चैत २६ मा ऐतिहासिक परिवर्तन ल्यायो।
विभिन्न कार्यक्रमहरू आयोजना
जनआन्दोलन दिवसको अवसरमा आज मुलुकभर राजनीतिक दलहरू, शैक्षिक संस्था, संघ–संगठनहरूद्वारा विविध कार्यक्रम आयोजना गरिँदैछन्। काठमाडौं उपत्यकाभित्र विशेषरूपमा ¥याली, विचार गोष्ठी, सभाजस्ता कार्यक्रमहरू आयोजना गरिएको छ।
यस दिनलाई सम्झँदै विभिन्न दलका शीर्ष नेताहरूले प्रजातन्त्रको रक्षाका लागि निरन्तर जागरूक रहन जनतालाई आह्वान गरेका छन्। इतिहासको गौरव बोकेको चैत २६ ले प्रजातन्त्रको मूल्य, संघर्ष र योगदानको स्मरण गराउँदै आज फेरि पनि चेतना र उत्तरदायित्वको सन्देश दिइरहेको छ।