
वासिङ्टन / संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। राष्ट्रिय मौसम सेवाले शनिबारदेखि नै आँधीको चेतावनी जारी गरेको थियो।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्याएको, सडकहरू डुबानमा परेको र दर्जनौँ चक्रवात उत्पन्न भएका छन्। टेनेसी राज्यको पश्चिमी भागमा मात्र १० जनाको मृत्यु भएको पुष्टि भएको छ। केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीले एक बालकसहित दुई जनाको ज्यान गएको छ।
सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएका तस्वीरहरूले घरहरू भत्किएको, रुख र विजुलीका पोल ढलेको, सडकमा पानी जमेको र कारहरू पल्टिएको देखिन्छ। अर्कान्सासको लिटिल रकमा एक घरभित्र पाँच वर्षीय बालक मृत अवस्थामा भेटिएका छन्।
मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको खबर छ। ट्र्याकिङ वेबसाइट पावर आउटेज डट कमका अनुसार टेनेसी र अर्कान्सासमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी घरधुरी विद्युत् आपूर्तिविहीन रहेका थिए।
राष्ट्रिय मौसम सेवाले टेनेसी र लोअर मिसिसिपी भ्याली क्षेत्रहरूमा आइतबारसम्म मध्यमदेखि तीव्र आँधीबेहरी आउन सक्ने भन्दै आकस्मिक बाढीको खतावनी दिएको छ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटना बढ्दै गइरहेका छन्। सन् २०२३ मा अमेरिकामा अहिलेसम्मकै उच्च तापमान र धेरै चक्रवात तथा आँधीबेहरीका कारण व्यापक जनधनको क्षति भएको थियो।