कैलाली / कैलालीको टीकापुर नगरपालिका क्षेत्रभित्र दुई वटा छुट्टाछुट्टै घरमा आगलागी हुँदा तीन लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ।
टीकापुर नगरपालिका–८ कर्मिडाँडाका अमन विकको एक कोठे भान्सा कोठामा अचानक विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। उक्त आगलागीबाट घरभित्र रहेका सबै सरसामान जली करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, टीकापुर नगरपालिका–६, पानीमुलामा महा लुहारको दुई कोठे कच्ची भान्सा कोठामा बालेको आगो नियन्त्रण बाहिर गएपछि आगलागी भएको हो। उक्त आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामग्री नष्ट भई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै स्थानमा स्थानीयवासी र सुरक्षा निकायको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको थियो।











