बाजुरा, चैत २३ – बाजुराको बडीमालिका नगरपालिका–९ चौराटास्थित बाउली खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा साेही ठाउँका ४२ वर्षीय सूर्य विष्ट रहेका छन् । पारिवारिक स्राेतकाअनुसार विष्ट तीन दिनदेखि सम्पर्क विहिन रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विष्टको शव नेपाल विद्युत प्रविधीकरणको बाजुरा वितरण केन्द्र नजिकै बाउली खोलामा शनिबार बिहान फेला परेको हो। मृतकको जुत्ता र मोबाइल शुक्रबार नै खोलानजिक फेला परेको भए पनि शनिबार मात्र उनको शव खोलामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका सूचना अधिकारी जनकबहादुर बोहराका अनुसार स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। “स्थानीयको जानकारीपछि हामी त्यहाँ पुग्दा उहाँ मृत अवस्थामा खोलामा फेला पर्नुभएको थियो,” उनले भने।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। मृतकका आफन्तहरूले हत्या भएको आशंका व्यक्त गरेकाले घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











