
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। यसअघि चैत ५ गते तोकिएको निर्वाचन विभिन्न कारणले स्थगित भएपछि आज सम्पन्न हुन लागेको हो।
केन्द्रीय क्याम्पसमा ६ हजारभन्दा बढी विद्यार्थी मतदाता रहेका छन्, जसले भोटिङ मेसिनमार्फत मतदान गर्नेछन्। निर्वाचनअघि नेविसंघभित्रको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो। त्यसपछि नेविसंघबाट दीपकराज जोशी स्ववियु अध्यक्षका लागि आधिकारिक उम्मेदवार बनेका थिए, भने अनोज कार्की को उम्मेदवारी रद्द गरिएको थियो।
यसै क्रममा, चैत ८ गतेका लागि निर्वाचनको मिति तय गरिए पनि कार्की समूहले उम्मेदवारी खारेजीविरुद्ध अदालतमा रिट दायर गरेपछि प्रक्रिया अनिश्चित बनेको थियो। उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो, जसका कारण निर्वाचन स्थगित भएको थियो।
तर, चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएपछि त्रिविले आजका लागि निर्वाचनको नयाँ मिति तय गरेको हो।
२०७९ सालको स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवार श्यामराज ओझा अध्यक्षमा निर्वाचित भएका थिए।