
१५ चैत, काठमाडौं – राजधानीको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा शुक्रबार आगजनी भएको छ। प्रदर्शन उग्र बनेपछि राजावादी समूहले तोडफोड गर्दै कम्पनीमा आगो लगाएको हो।
कम्पनीकी महाप्रबन्धक डा. संगीता यादव का अनुसार तोडफोड सुरु भएपछि कर्मचारीहरू भागेर ज्यान जोगाउन बाध्य भए। “साढे २ बजेतिर हामी काम गरिरहेका थियौँ, अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो। अफिसका सिसा फुट्न थालेपछि ज्यान जोगाउन कोठाभित्र बस्यौँ,” उनले भनिन्।
बाहिर रहेका गाडीमा आगजनी भएपछि मुख्य भवनसमेत जोखिममा परेको थियो। स्टोर क्षेत्रमा आगलागी भए विस्फोटको खतरा रहेको यादवले बताइन्। आगलागी नियन्त्रणका लागि प्रहरी र सम्बन्धित निकायमा सहयोग मागिए पनि तत्काल पहल नभएको उनको गुनासो छ।
यसैबीच, नेकपा एकीकृत समाजवादी को कार्यालय र तीनकुनेको एक घरमा समेत आगजनी गरिएको छ। कोटेश्वरको भाटभटेनी सुपरस्टोर मा लुटपाट र तोडफोडसमेत भएको छ।
राजधानीभर बढ्दो हिंसात्मक गतिविधिले सुरक्षा अवस्था थप चिन्ताजनक बनेको छ।