सिलगढी / डोटीकाे दिपायलबाट धनगढी तर्फ जाँदै गरेको जिप गएराती दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने जिपमा सवार ३ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप गए राति कैलालीको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा दुर्घटना हुँदा डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेकाे हाे ।
घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।











