
ए पहल बहादुरहरु !
तँहरुलाई विशेष धन्यवाद छ ,
किन कि ?
हावा तँहरुकै पहलमा चलेको छ र
सास फेर्न पाएका छौं ,
फोक्सो तँहरुकै पहलमा चलेको छ र
हावा निल्न पाएका छौं !
तँहरुले पहल नगरेको भए :
न सास फेर्न सकिन्थ्यो ,
न बाँच्न सकिन्थ्यो ,
न निदाउन सकिन्थ्यो
न जाग्न सकिन्थ्यो ,
न थपक्क परेर बस्न सकिन्थ्यो
न कुलेलम ठोकेर भाग्न सकिन्थ्यो !
त्यसैले त ,
ए पहल बहादुरहरु !
तँहरु छौ र पो
सृष्टि चलेको छ ,
दिन ढलेर रात परेको छ ,
सूर्य तँहरुकै पहलमा उदाउँछ
अस्ताउँछ पनि तँहरुकै पहलमा !
तँहरुले पहल नगरेको भए ,
न घडी चल्थ्यो
न दिन ढल्थ्यो ,
न चुलो सल्किन्थ्यो
न आगो बल्थ्यो !
तँहरुकै पहलमा :
विश्व ब्रह्माण्ड चलेको छ
साह्रा खगोल चलेको छ ,
हाम्रो भूत , वर्तमान अनि भविष्य र
हामी बसेको भूगोल चलेको छ !
ए पहलबहादुरहरु !
तँहरु नभएको भए ,
तँहरुको जुठोपिरो टिपेर हुर्किएका
चेलाचपेटाहरु नभएको भए
न ऋतु परिवर्तन हुन्थ्यो
न क्यालेण्डर फेरिन्थ्यो
न फूल फुल्थ्यो
न फूलले सुवास छोड्थ्यो !
तँहरु छौ र पो :
पानी परेको छ
खोलो झरेको छ ,
तँहरुले पहल नगरेको भए
समुन्द्रले उहिल्यै सिमाना छोडेर
प्रलय भैसकेको हुन्थ्यो ?
लेखक : पद्म पब्लीक मुक्तीनारायण माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्छ ।