
काठमाडौ– निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेका भनी नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ।
बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट हटाउने निर्णय गरेको हो। रावललाई पार्टीले स्पष्टीकरण मागेपछि रावलले कुनै जवाफ दिएका थिएनन् ।
रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यापारी मीनबहादुर गुरूङबाट जग्गा र आर्थिक सहयोग लिने निर्णयप्रति विरोध जनाएका थिए। साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले पनि यसको विरोध गरेका थिए।
त्यसपछि गत ४ कात्तिकमा एमालेले रावल, पाण्डे र तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो। पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बझाएका थिए । बैठकले पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाएको छ ।