सिलगढी / डाेटीमा आज (शुक्रबार ) दशैँ मान्न घर आउने क्रममा एक महिलाकाे भिरबाट लडेर मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार मृत्यु हुनेमा जिल्लाकाे जाेरायल गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३०/३५ वर्षीय भावना पुन मगर ( पवित्रा ) रहेकी छन् ।
उनकाे बिहान करिव ८:४५ बजेकाे समयमा जाेरायलकाे साेही ठाउँ नकु आसपास गणेशाल टोलको माथिल्लो मोड अबस्थित भिरमा पाइपलाइनकाे पानी खाेलेर पिउने क्रममा करिब ४० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) विनाेद शर्माले बताउनुभयो ।
उनी कैलालीको चौमालाबाट जोरायल थलीस्थित घरमा दशै मान्न आउँदै थिइन् । मृतककाे श्रीमान र छोरी पनि सँगै रहेकोे भए पनि श्रीमान केही अगाडिको दुरीमा हिडिरहेको बेला पवित्राको लडेर मृत्यु भएको आफन्त स्राेतबाट बुझिएकाे छ । मृतकाे पवित्राकाे माइती घर जोरायल गाउँपालिका ४ सिराड हाे ।
त्यस्तै यहि असोजको ४ गते जाेरायल गाउँपालिका ४ नकु आसपासकाे भीरबाट लडेर साेही ठाउँ कि ३४ वर्षीया शिक्षिका रोहिता बोहराकाे मृत्यु भएकाे थियाे ।











