मनमाेहन ठकुल्ला, डाेटी
डाेटीकाे जोरायल गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विपन्न तथा पछाडी परेका वर्गहरुको जिवनस्तर उकास्नको लागि जमिन भाडामा लिएर सामुदायिक खेती प्रणाली कार्यक्रम मार्फत बादी समुदायलाई दिएकाे छ ।
बादी समुदायका झण्डै २० घरधुरीलाई समेटी जोरायल बासमती र मौसमी तथा बेमौसमी तरकारी खेति गर्नको लागि ५ रोपनि जमिन भाडामा लिई सामुहिक खेति प्रणाली मार्फत विपन्न तथा पछाडी परेका बादी समुदायकाे उत्थान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएकाे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका नायव प्राविधिक सहायक चन्द्र बहादुरी सार्कीका अनुसार आर्थिक वर्ष २०७५/२०७६ मा जोरायल गाउँपालिकाले पालिकाका वडा नं ३ र ४ मा रहेका बादी समुदायका लागि कृषि कार्य मार्फत विभिन्न क्रियाकलापहरु संचालन गर्नकाे लागि जमिन भाडामा लिएकाे बताउनुभयो ।
गाउँपालिकाले उपलब्ध गराएकाे सूचनाअनुसार वडा नं ३ बस्ने कमल सिं कठायतको ५ रोपनि जमिन भाडामा लिई हाल बादी समुदायका कृषकहरु खेति गर्दै आएका छन् ।
उक्त जमिनमा बादी समुदाय हाल जाेरायलकाे बासमती नामले परिचित धानखेती गर्दै आएका छन् । वर्तमान समयमा उक्त जमिनमा बादी समुदायद्वारा प्रति राेपनी ५ क्विन्टलका दरले जाेरायल बासमती उत्पादन हुने गरेकाे छ । जसबाट बादी समुदायका १० परिवार लाभान्वित भएकाे उपलब्ध तथ्यांककाे आकडामा उल्लेख छ । त्यस्तै उक्त जमिनमा बादी समुदायहरू बर्खामा धान र हिउँमा गहुँ र तरकारी खेति गरिदैआएका गाउँपालिका प्राविधिक सहायक सार्की बताउनु हुन्छ ।
हाल गाउँपालिकाले प्रति राेपनी १५ हजारका दरले जम्मा ७५ हजार भाडा तिर्दै आएकाे छ ।
गाउँपालिकाले जमिन भाडामा लिएर आफूलाई उत्पादन गर्न दिँदा राहत महसुस भएकाे कटैनी देवी बादीले बताइन् । उनी भन्छिन्, ” उक्त जमिनमा जाेरायलकाे बासमती धान लगाउछाैँ, राम्रो हुन्छ, केही महिना भएपनि दैनिकी गुजारा गर्न हुन्छ ।”
बादी समुदायकाअनुसार उक्त जमिनमा विगत ३ वर्षदेखि निरन्तरता धानखेती गर्दै आइरहेको बताएका छन् ।
बादी समुदायका समस्यलाई ध्यानाकर्षण हुनेगरी जमिन भाडामा लिएर उनीहरूलाई खेति गर्न दिएकाे जाेरायल गाउँपालिका उपाध्यक्ष जमुना बाेहरा (राेकाया) ले बताउनुभयाे । गाउँपालिका उपाध्यक्ष बाेहराले भन्नुभयो,” याे सामुदायिक खेती प्रणाली अन्तर्गतकाे कार्यक्रम हाे, २०७४ सालमा जमिन भाडामा लिएर खेति गर्न सुरू गरिएकाे हाे । साथै उहाँकाअनुसार याे कार्यक्रम लामाे समयसम्म जाने बताउनुभयो ।











