सिलगढी । जल तथा माैसम विज्ञान पूर्वानुमान महाशाखाकाअनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।
आज सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
मंगलबार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।











