सिलगढी / माैसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर मनसुनी वायुका साथै भरतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी परिरहेको छ ।
महाशाखाकाअनुसार आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ। त्यस्तै कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ। आज देशको तराई क्षेत्रमा हावाहुरी आउने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आजकाे बुलेटिनमा उल्लेख गरेअनुसार आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ। बागमती, गण्डकी, लुम्बिनी, मधेश र कर्णाली प्रदेशका केही ठाउँमा भने राती पनि भारी वर्षा हुने छ।
आइतबार पनि देशभर मनसुसनी वायु सक्रिय रहने भएकोले देशभर नै पानी पर्ने बताइएको छ। आइतबार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरी आउने उल्लेख छ।
आइतबार राती भने कोशी, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित सामान्य पानी पर्ने र अन्यत्र पानी पर्न कम हुने जनाइएको छ।











