सिलगढी / माैसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको महाशाखाले आजकाे बुलेटिनमा उल्लेख गरेकाे छ ।
शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आजकाे बुलेटिनमा उल्लेख गरे अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानहरूमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।











