
रामहरि ओझा
१२ असोज, डोटी
डोटीको केआई सिंह गाउँपालिकामा गत आर्थिक बर्ष (२०८०÷०८१) मा चार सय ९८ बालबालिकाहरु जिवित जन्मिने अनुमान गरिएको थियो । सोही अनुसार स्वास्थ्य सेवाका सूचकहरुमा लक्ष्य निर्धारण गरिएको थियो । तर अनुमानित लक्ष्य भन्दा धेरै कम बालबालिकाहरु जन्मेपछि अन्य सूचकहरुमा पनि लक्ष्य अनुसारको प्रगति भएन ।
‘गाउँपालिकाभित्रैका स्वास्थ्य संस्थाहरुमा दुई सय ४५ र पालिकाभन्दा बाहिरका स्वास्थ्य संस्थामा एक सय १३ बालबालिकाहरुको जन्म भएको छ’ पालिकाको स्वास्थ्य शाखा संयोजक नविन माझी भन्छन् ‘हामीले घरघरमै गएर सूचना लिँदा पनि गाउँपालिकामा जन्मेका बालबालिकाको संख्या यत्ति हो ।’ उनी भन्छन् ‘यसले गर्दा गर्भवती जाँच, खोप, सुत्केरी जाँच, संस्थागत सुत्केरी हुनेको प्रतिशत जस्ता लक्ष्यहरु पुरा भएनन् ।’
शिखर नगरपालिकाको अवस्था पनि उस्तै छ । गत आर्थिक बर्षमा ६ सय ७७ बालबालिकाहरु जिवित जन्मिने अनुमानित लक्ष्य भएपनि नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरु र बाहिरका स्वास्थ्य संस्थाहरुमा समेत गरी जन्मेका बालबालिकाहरुको संख्या तीन सय ६४ मात्रै रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलवहादुर खत्री बताउँछन् । ‘खोप लगाउन कुनै पनि बालबालिका छुटेका छैनन्, हामीले घरमै गएर खोजेर खोपेका छौं’ खत्री भन्छन् ‘तर लक्ष्य अनुसारको उपलव्धी देखिदैन, किनकी सेवाग्राहीनै छैनन् ।’
यो समस्या केआई सिंह गाउँपालिका र शिखर नगरपालिकाको मात्रै हैन, जिल्लाका सवै स्थानीय तहहरुले झेल्दै आएका छन् । ‘स्वास्थ्य संस्थाहरुले आफ्नो सेवा क्षेत्रभित्र लाईन लिष्टिङ्ग गरेका छन्, स्वास्थ्य सेवा प्राप्त गर्नु पर्ने सवैले पाएको देखिन्छ’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी भन्छन् ‘कुनै पनि सेवाग्राही छुटेका छैनन् तर अनुमानित लक्ष्य नै नमिलेका कारण सो अनुसारको उपलव्धी नदेखिएको हो ।’
लक्ष्य अनुसारको उपलव्धी नदेखिनुमा बसाईसराई प्रमुख कारण देख्छन् केआई सिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख माझी । उनी भन्छन् ‘केही मान्छेहरु व्यवहारिक रुपमा बसाई सरेका छन् तर कानुनी रुपमा बसाईसराई गरेका छैनन्, केही रोजगारीका लागि देशभित्रै वा बिदेशमा छन् । त्यसैले लक्ष्य अनुसारको उपलव्धी देखिदैनन् ।’ पछिल्लो समयमा छोराछोरी पढाउने भन्दै शहरतिर जाने गरेका कारण पनि उलव्धी कम देखिएको माझीको भनाई छ । उनी सेवा पाउनु पर्ने कुनै पनि व्यक्ति नछुटेको दावी गर्छन् ।
शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खत्रीको भनाई पनि उस्तै छ । ‘पहिले पहिले पुरुषमात्रै रोजगारीका लागि भारत जाने गरेका थिए, अचेल त श्रीमान्–श्रीमती दुवै जान्छन्’ खत्री भन्छन् ‘उतै बच्चा जन्मिन्छ, केही दिनका लागि घर आउँछन्, फेरी उतै जान्छन् ।’ उनी सिजनल बसाई सराईले पनि लक्ष्य प्राप्ती गर्नमा समस्या भएको वताउँछन् । पछिल्लो समयमा शिक्षित दम्पत्तिहरुले एक मात्रै सन्तान जन्माउने गरेकाले पनि अनुमानित लक्ष्य र वास्तविकतामा फरक पर्ने गरेको उनी वताउँछन् । उनले नियमित खोप तालिकामा भौगोलिक दुरीका कारण एकआध बच्चा छुटेको भएपनि आफुहरुले खोजेर खोप्ने अभियानबाट खोप पुरा गर्ने गरेको वताउँछन् ।
जिल्लाको जनसंख्याको आधारमा स्वास्थ्य सेवा बिभागले तथ्याङ्कशास्त्रीय बिधिको प्रयोग गरी लक्ष्य निर्धारण गरेर पठाउने गरेको स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासी वताउँछन् । ‘जनसंख्याको आधारमा लक्ष्य निर्धारण हुन्छ, तर उच्च बसाईसराई त्यो लक्ष्य मेल खाँदैन’ मलासीले भने ‘त्यसैले लक्ष्य अनुसारको उपलव्धी नदेखिने हो ।’ उनी गत आर्थिक बर्षमा जिल्लामा चार हजार ७ सय ६० जिवित बालबालिकाहरु जन्मिने स्वास्थ्य सेवा विभागको अनुमानित लक्ष्य भएपनि जम्मा दुई हजार ६ सय ३१ बालबालिकामात्रै जन्मेको बताउँछन् । स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको बार्षिक समीक्षा कार्यक्रममा जिल्लाको लक्ष्य प्रगतिको बिषयमा जानकारी गराउँदै मलासीले लक्ष्य अनुसारको उपलव्धी नदेखिनुमा बसाई सराईका साथसाथै सुरक्षित गर्भपतन पनि एक कारण भएको बताए ।