काठमाडौं । भारतको बेङ्गलुरुमा नेपाली युवती महालक्ष्मीको हत्याकाण्डका मुख्य अभियुक्तले बुधबार दिउँसो ओडिशाको भद्रक जिल्लाको एउटा गाउँमा झुण्डिएर आत्महत्या गरेका भारतिय संचार माध्यमले जनाएको छ ।
उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको र मोटरसाइकल पनि त्यहीँ पार्किङ गरिएको अवस्थामा फेला परेको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेको नाम मुक्ति रञ्जन राई हो । उनको साथबाट एउटा डायरी बरामद भएको छ, जसमा उनले महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन् । महालक्ष्मी र रञ्जनले सन् २०२३ मा एकअर्कालाई चिनेका थिए र सम्बन्धमा थिए । दुवै एउटै मलमा काम गर्थे ।
सेप्टेम्बर २० मा बेंगलुरुको व्यालिकवल क्षेत्रमा बसप्पा गार्डेन नजिकैको तीन तले घरमा २९ वर्षीया महालक्ष्मीको शव फेला परेको थियो । उनको शरीरलाई ५९ टुक्रामा काटेर फ्रिजमा राखिएको थियो ।
महालक्ष्मीका भाइ उक्कम सिंहले आफ्नो परिवार नेपालको टीकापुरमा रहेको भारतीय अखबार दैनिक भास्करलाई बताएका थिए । ३० वर्षअघि उनीहरूका आमाबाबु कामको लागि बेंगलुरु आएर त्यहाँ बसोबास गर्न थालेका थिए ।