
मनमाेहन ठकुल्ला , सिलगढी / डाेटी जिल्ला सदरमुकाम सिलगढीबाट कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङसम्म जोड्ने साढे सात किलोमिटर सडक कालाेपत्रकाे काम अन्तिम चरणमा पुगेकाे छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा २०७६ साल साउन महिनाबाट निर्माण कार्य सुरू गरिएकाे कम्पनीले उक्त सडककाे काम करिव ९७ प्रतिशत पूरा भएकाे निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीका ठेकेदार प्रेमशंकर भट्टकाअनुसार सडक निर्माणकाे प्राइमर र पहिलाे काेड सकिएकाे र सेकेन्ड काेड मात्रै बाँकी रहेकाे बताउनु भयाे । भट्टले थप्नु भयाे,” सडक निर्माणकाे अन्तिम चरणकाे काम भैरहेकाे छ, जेठ मसान्तसम्म सबै काम पूरा हुन्छ ।”

सिलगढीबाट उक्त साढे सात किलोमिटर सडक कालाेपत्रका लागि राजेन्द्र पिएस जेभीले पूर्वाधार विकास कार्यालय डडेल्धुरासँग वि.सं २०७६ असार ३१ गते ३० महिना निर्माण कार्य सम्पन्नकाे लागि रु १६ करोड १५ लाख ७० हजार ३१० मा सम्झौता भएको थियो ।
सम्झौताअनुसार सडक कालाेपत्रकाे काम निर्माण कम्पनीले २०७८ साल असार ३१ गते गरिसक्नुपर्ने थियाे तर काेभिड र भेसनअडर स्वीकृति नभएका कारण ढिलाइ भएकाले २ पटक म्यादथप गरेकाे निर्माण कम्पनीले जनाएको छ ।