सिलगढी /आजदेखि वि.स २०८१ साल सुरु भएसँगै नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ। सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ। आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ।
आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ। विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो।
आज सुदुरपश्चिममा नयाँ वर्षसँगै बिसु पर्व मनाइने प्रचलन छ । बिसु पर्वमा बिहानै नुवाईधुवाइ गरेर सिस्नाे लगाउदै मनाइन्छ ।
त्यस्तै नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्था एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ।











