मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा माटाेकाे ढिस्काेमा पुरिएर एक बृद्धाकाे मृत्यु भएकाे छ भने एक महिला घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार आज ( आइतबार ) साढे २ बजेकाे समयमा माटाेकाे ढिस्काेमा पुरिएर मृत्युु हुनेमा जिल्लाकाे आदर्श गाउँपालिका वडा नम्बर २ कुचेडाकी ६० वर्षीया भागा देवी ओझा रहेकी छन् । उनकाे माटाेकाे ढिस्काेमा पुरिएर घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवले बताउनु भयाे ।
त्यस्तै घाइते हुनेमा आदर्श गाउँपालिका वडा नम्बर १ बाँजककानीकी ५० वर्षीया पार्वती खड्का रहेकाे नायव उपरीक्षक श्रीवास्तवले बताउनु भएकाे छ । घाइते खड्काकाे पेटमा गम्भीर खाले चाेट लागेकाे छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल डाेटीमा ल्याउदै गरेकाे श्रीवास्तवले बताउनु भयाे ।
घटना घटेकाे स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरे पश्चात् तत्काल ईलाका प्रहरी कार्यालय माैवाकाे टाेली घटना स्थलमा पुगी मृतक र घाइतेको उद्दार गरिएकाे हाे । माटाे काेर्न दुई जना मात्रै गएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ ।
घटनाबारे थप अनुसन्धान गरेर मृतकलाई पोष्टआर्टमकाे लागि जिल्ला अस्पताल ल्याउने प्रहरीले बताएकाे छ ।
हिजाे ( सनिवार ) मात्रै डोटीकाे शिखर नगरपालिका वडा नम्बर ९ मा माटोको ढीस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएकाे थियाे भने ३ जनाकाे उद्दार गरिएकाे थियाे ।











