डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमाथि नगर कार्यपालिका नेकपा माओवादीका बहुमत सदस्यले कुटपिट गरेकाे छन् ।
स्राेतका अनुसार कार्यपालिकाका बहुमत सदस्यले बैठकमै प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेकाे जनाइएको छ ।
अधिकृत जोशीको टाउकोमा तीनवटा टाँका लगाइएको छ । उनकाे जोगबुढा अस्पतालमा उपचार भइरहेको स्राेतले जनाएको छ ।
नेकपा माओवादी केन्द्रबाट विजयी कार्यपालिका सदस्यहरू धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए। घटनाको कारण आजको बैठकमा पनि उनीहरूले सोही माग गर्न थालेपछि प्रमुख प्रकाशकीय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरूले गर्न नसक्ने बताएका थिए।
नगरपालिकाका अनुसार बजेट संशोधन गर्ने सहित १३ एजेन्डामाथि छलफल गर्न कार्यपालिका बैठक बाेलाइएकाे थियाे । बैठकमा विवाद भएपछि कार्यपालिका सदस्यहरूले कुर्सी हानाहान गरेको हुन्। सोही विषयमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा घटनाको विषयमा जानकारी भएको छ। तर, प्रहरीमा निवेदन तथा उजुरी भने दर्ता भएको छैन।











