मनमाेहन ठकुल्ला, डाेटी
डाेटीकाे बडीकेदार गाउँपालिका वडा नम्बर ३ निवासी उपेन्द्र मल्लले पुर्ख्याैली पेसा अदुवा खेतीलाई व्यवसायीक रूपमा परिणत गरेका छन् । उनी अहिले अदुवा खेतीबाट मनग्य आमदानी गरिरहेका छन् । उनले अहिले यसै आमदानीबाट घरपरिवारकाे खर्च धान्दै आएका छन् ।
परम्परागत पेसालाई व्यवसायीक रूपमा परिणत गरेकाे उनले
३/४ वर्ष भयाे । करिव २ राेपनी जमिनमा अदुवा खेती गर्दै आएका उनी वार्षिकरूपमा ६० देखि ७० क्विन्टल अदुवा उत्पादन गर्छन् भने वार्षिक करिव २ ढाइ लाख आमदानी गर्दै आएका छन् ।
२०५९ सालदेखि २०६४ सालसम्म राेजगारीकाे सिलसिलामा भारत बसेका मल्लेले स्वदेश फर्किएर पढ्दै काम गर्दै गरी करिव ९ वर्ष सरकारी तथा गैरसरकारी संघसंस्थामा आवद्ध भएर काम गरे । त्यसपछि उनले जागिर चटक्कै छाेडेर परम्परागत कृषि पेशा अदुवा खेतिलाई निरन्तरता दिएकाे बताए ।
किसान उपेन्द्र मल्लकाअनुसार बजारमा अदुवा बिक्रीवितरण गर्न खासै समस्या नभएकाे बताए । उनले थपे, ” अहिले मेराे अदुवा खरिद गर्न भारत तथा नेपालकाे पूर्वी भाग झापादेखि व्यापारीहरू बारीमै पुग्ने गरेका छन् ।
किसान मल्लकाअनुसार बजारमा अदुवा बिक्रीवितरण गर्न खासै समस्या नभएपनि माैसमकाे समयभन्दा अदुवालाई भण्डारण गरेर राख्न सकिए, बेमौसममा बिक्री गर्दा मनग्य आमदानी गर्न सकिने बताए । उनी थप्छन्,” बजारमा अदुवाकाे मूल्य प्रतिकेजी ३० देखि १३० सम्म विक्रि गर्दै आएकाे छु ।
उनी फेरि थपिहाल्छन्, “अदुवा भण्डारणमा समस्या र चुनाैती धेरै छ, सरकारी तथा गैरसरकारी संघसंस्थाबाट भण्डारण गर्ने व्यवस्था मिलाइएको भए हुथ्याे ।” अदुवा फलाउन प्राविधिक सहयाेग नपाएकाे बताए ।
उनका अनुसार रासायनिक विषादी मलकाे फिटिक्कै प्रयाेग नगरेर स्थानीय मल उत्पादन तथा किनेर अदुवा उत्पादन गरिरहेकाे बताए ।
त्यस्तै डाेटीकाे बाेगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ निवासी पुष्कर बाेहरा पनि करिव डेढ राेपनी जमिनमा अदुवा खेती गरी वार्षिक ४०/५० क्विन्टलकाे हाराहारीमा अदुवा उत्पादन गर्दै आएका छन् । उनी १० /१५ क्विन्टल आफू लगाउनलाई राखेर माग अनुसार जिल्ला बाहिर लगायत अन्य क्षेत्रमा समेत बारीबाट अदुवा बिक्रीवितरण भएकाे बताएका छन् ।
उहाँका अनुसार अदुवाकाे मूल्य माैसममाभन्दा जाेगाएर राख्न सके बेमौसममा धेरै मूल्यमा बिक्री हुने गरेकाे बताए ।
उनी थप्छन्,” अदुवा खेतीबाट मनज्ञ आमदानी त हुन्छ नै तर भण्डारण गर्नमा समस्या छ, माैसममा बेचेर बजारमा माेल पाइदैन ।”
उनकाे पनि उपेन्द्रकाे जस्तै अपेक्षा छ, उनी पनि भन्छन्,”अदुवा भण्डारणका लागि स्थानीय तहले केही पहल गरिदिए हुन्थ्याे, बेमौसमसम्म अदुवा जाेगाउन सकिए बजारमा ओैधी माेल पाइथ्याे ।”
अदुवाका लागि मल धेरै चाहिने भएकाले वर्षैपिच्छे जमिन फेर्नु पर्ने अदुवा किसान बताउछन् । बजारकाे रासायनिक मल भन्दा स्थानीय तथा प्राङ्गारीक मल अदुवाखेतीका लागि उपयाेगी रहेकाे तर चाहे जति मल पाउनै मुस्किल भएकाे उनीहरूकाे गुनासो छ ।
जिल्लामा वर्षेनी अदुवा खेती वृद्धि हुँदै
डाेटी जिल्लाकाे हकमा कृषि ज्ञान केन्द्र डाेटीले दिएकाे त्रिवर्षीय तथ्यांकलाई नियाल्दा जिल्लामा वर्षेनी अदुवा खेती वृद्धि हुँदै गएकाे छ ।
आर्थिक वर्ष २०७७/०७८ मा ७ सय ८० क्षेत्रफल जमिनमा ११ हजार ७ सय मेटि्रकटन अदुवा उत्पादन भएकाे छ । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ८ सय ४५ क्षेत्रफल जमिनमा १३ हजार १ सय मेटि्रकटन अदुवा उत्पादन भएकाे छ ।
त्यसैगरी गत आर्थिक वर्ष २०७९/०८० मा डाेटी जिल्लामा ८ सय ५० क्षेत्रफल जमिनमा १३ हजार २ सय ४६ मेटि्रकटन अदुवा उत्पादन भएकाे छ ।
यसरी तीन आर्थिक वर्षकाे अदुवा खेतीकाे उत्पादनलाई नियाल्दा जिल्लामा अदुवा खेतीकाे क्षेत्रफल पनि बढेकाे छ ।
कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगा दत्त अवस्थीका अनुसार जिल्लाका नाैँ वटै स्थानीय तहकाे हकमा सबैभन्दा बढी अदुवा उत्पादन बडीकेदारमा हुँने गरेकाे बताउनु भयाे । उहाँले भन्नुभयो,” अदुवा बजारीकरणकाे सन्दर्भमा कुरा गर्दा जिल्लाबाट भारतसम्म निर्यात हुने गरेकाे बताउनु भयाे ।”
निमित्त प्रमुख अवस्थीका अनुसार अदुवा बिक्रीवितरण गर्न किसानलाई खासै समस्या नभएकाे बताउनु भएकाे छ ।
त्यस्तै जिल्लामा कुल खेतीयोग्य जमिन ३२ हजार २ सय ७६ हेक्टर मध्ये २५ हजार ५ सय हेक्टर जमिनमा मात्रै खेती गरिदै आएकाे छ ।











