सिलगढी / आज फाल्गुण कृष्ण चतुर्दशी महाशिवरात्रि पर्व,लेशभरका शिवालयमा धूमधामका साथ मनाइँदै छ ।
बिहन सबेरै उठेर नुहाइधुवाई गरेर शिवालयमा गई भगवान् शिवको पूजा आराधना गरिन्छ । शिवालयमा भक्तजनकाे ठूलाे भिडभाड देखिन्छ । बिहान सबेरै उठेर नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा चलिआएको छ ।
त्यस्तै डाेटी जिल्लाकाे दिपायल अबस्थित बासुधारा लगायतका क्षेत्रमा विभिन्न शिवालयहरूमा भक्तजनहरूकाे विहानैदेखि भिडभाड हुने गर्दछ ।
शिवकाे अर्थ
भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन्। यही कारण आशुतोष नाम रहेका शिवको संहारका देवताका रूपमा पनि महिमा छ। शिवको अर्थ हुन्छ– कल्याण। भगवान् शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरू छन्।
जस्तो कृष्ण भगवान् जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान् शिवको प्रिय दिन महाशिवरात्रि।
व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन्। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ।
महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।
मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्त्व रहेको राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराई बताउँछन् ।
कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो। यस दिन शिवार्चनका साथै रात्रि जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरूले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ।
भगवान् शिव दिव्य ज्योतिर्लिङ्ग स्वरूपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो। महाशिवरात्रिको यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ।
शिवरात्रिको दिन कम्तीमा तीन प्रहरसम्म शिवको पूजा गरिछ। ४–४ घण्टाको फरकमा पूजा गर्ने शास्त्रीय विधि छ। शास्त्रमा यस्तो लेखिएको छ–
फाल्गुणे कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका।।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ। अतः त्यसै समय जीवनरूपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग हुन्छ। यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ।
भगवान् शिवको मनपर्ने पातहरू
बेल पत्र : शिवलिंगमा बेलको पात चढाउँदा आध्यात्मिक शक्ति प्राप्त हुने जनविश्वास छ । भगवान् शिवलाई यो तीन अक्षरको पात धेरै मन पर्छ।
शमीको पात : पुराणका अनुसार भगवान् शिवलाई शमीको पात मन पर्छ । शिवलिंगको पूजा गर्दा शमीको पात अवश्य चढाउनुपर्छ ।
भांङको पात : भगवान् शिवको सबै पूजामा भांङको पात अवश्य चढाइन्छ, किनभने भगवानलाई भांङको पात धेरै मन पर्छ।
अपमार्ग पातहरू : यसलाई चिरचिटा पनि भनिन्छ। यसको पात भगवान् शिवलाई अर्पण गर्नाले जीवनमा सुख, शान्ति र समृद्धि बढ्छ। अभिषेक गर्दा चिरचिटाको पात पनि प्रयोग गर्न सकिन्छ ।
धतुराको पात : यसका फल र पात दुवै शिवलिंगमा चढाइन्छ।
पिपलको पात : शिवको पूजामा पनि पिपलको पात चढाउन सकिन्छ । यदि कुनै कारणले बेलपत्र उपलब्ध छैन भने, तपाईँ पीपल पात चढाउन सक्नुहुन्छ। यसबाट पूजाको फल पनि मिल्छ।











