मनमाेहन ठकल्ला, डाेटी,
डाेटीमा खडेरीकाे चपेटामा परेका गहुँबालीमा लामाेसयपछि आकाशे पानी परेसँगै ‘पहेँलाे सिन्दरे’ राेग देखा परेकाे छ ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारीदाङ र पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ७ टिमुरदहका करिव १५ / २० जना किसानकाे ५०० राेपनी गहुँ बालिमा सिन्दुरे राेग देखा परेकाे कृषि ज्ञान केन्द्र डाेटीले जानकारी दिएकाे छ ।
गहुँ बालीमा दिनानुदिन सिन्दुरे राेग फैलिदै जाँदा खेतबारी रित्तिन थालेपछि किसानहरू चिन्तामा डुबेका छन् । लामाे समयपछि आकाशे पानी परेसँगै गहुँ बालिमा राेग झन् झन् फैलिदै गएकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ७ का किसान बिष्णु महराले बताउनु भयाे । उहाँले भन्नू भयाे, ” पानी पर्नु भन्दा पहिले गहुँमा त्याे राेग खासै थिएन् अलिअलि थियाे , दुईचार दिनकाे पानीले गर्दा नजिकका खेतगडा सबै क्षेत्रमा फैलिएको बताउनु भएकाे छ ।
किसान महराले थप्नु भयाे, ” जुन गहुँको बाेटमा राेग लागेकाे छ, त्याे बाेट काम नलाग्ने गरी पहेँलाे भएर सुसिसकेकाे छ, बाँकी बाेट कृषि ज्ञान केन्द्रबाट ओैषधी दिएपछि प्रयाेग गरिरहेकाे छु ।”

गहुँ गाेडमेल तथा बाला आउने समयमा गहुँमा उक्त राेग लाग्दा बाँकी ओैषधीकाे भरमा बचेका बाेट गाेडमेलका कारण बचाउन समस्या भएकाे महराले बताउनु भयाे । उहाँले भन्नुभयाे, “खेतमा ओैषधी छरेकाे छ, गाेडमेल गर्न पाइदैन । ” विषादी प्रयाेग गरेसँगै राेग लाग्दै गरेकाे गहुँबालीमा थाेरै सुधार हुँदै गएकाे महराले बताउनु भएकाे छ ।
कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगा दत्त अवस्थीका अनुसार पहेँलाे सिन्दुरे राेग सुरूमा पातमा सिन्दुर जस्तै देखिदै जाने र बिस्तारै बढ्दै जाँदा गहुँको डाँठमा देखा परिसकेपछि बाला गाड्दै गरेकाे गहुँको मुन्टाे सुकाउने गरेकाे बताउनु भएकाे छ ।
खडेरीकाे मारमा परेका गहुँबालीमा हावा र पानीले गर्दा झन् अन्य क्षेत्रमा पनि राेग फैलदै जाने सम्भावना रहेकाे प्रमुख अवस्थीले बताउनु भएकाे छ । उहाँले भन्नू भयाे, ” राेग देखा परेकाे जानकारी आइसकेपछि म आफै दिपायल सिलगढी नगरपालिका कृषि शाखाका कर्मचारी लिएर उक्त क्षेत्रमा अनुगमन गर्न जाँदा राेग केही दिन पहिले लागेकाे र किसानले पछि थाहा पाएकाे बताउनु भयाे ।
सिन्दुरे राेग नियन्त्रणकाे लागि राेग नलाग्ने गहुँ लगाउने तथा लाेक्कल बिउमा बढी लाग्ने भएकाले बिउलाई उपचार गरेर लगाउदा आगामी दिनमा न्युनिकरण गर्न सकिने अवस्थीले बताउनु भयाे । उहाँले भन्नु भयाे ” गहुँमा राेग लाग्न नदिन अवरोधक जातकाे गहुँ ठिक समयमा लागउनु पर्छ र सिफारिस गरिएको मलखातकाे प्रयाेगबाट यसकाे निराकरण गर्न सकिन्छ।”
निमित्त प्रमख अवस्थीले भन्नूभयाे, ” यदि गहुँबालिमा राेग लाग्ने बित्तिकै थाहा भयाे भने नर्मल खालकाे विषादीकाे प्रयाेग गरेपछि राेग नियन्त्रणमा आउछ तर गहुँमा राेग लागेकाे लामाे समयपछि थाहा पाइयो भने पछि नियन्त्रण लिन गाह्राे हुन्छ ।”
त्यस्तै कृषि ज्ञान केन्द्र डाेटीले दिएकाे सुचना अनुसार डोटी जिल्लामा हाल १४ हजार २ सय ९० हेक्टर जमिनमा गहुँ खेती गरिँदैआएको छ । वर्तमान समयमा जिल्लामा ८२ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ । डोटीमा गत बर्षमा २३ हजार ८ सय ९८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।











