डाेटी / खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट अवैधरूपमा काठ चिरानी गरिरहेका ४ जनालाई पक्राउ गरिएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं २ मा पर्ने रानीढुङ्गा सामुदायिक वन क्षेत्रको हाँडे ढुङ्गा खोला किनारबाट उनीहरूलाई विभिन्न सामाग्रीसहित पक्राउ गरेकाे खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले बताएका छन् ।
निकुञ्ज भित्र अवैध रूपमा तिलाईलो ( तिलाल्लाे) जातको रुखको गाँठो काटेर विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ परेका व्यक्तिहरूकाे सेनाले नाम, थर, वतन भने खुलाएकाे छैन् । तर पक्राउ परेका व्यक्तिहरूको साथबाट सानो खालको पावर चैन सो, तिलाइलो रुखको फुरु (गाँठो) ९ थान, स्पिलिङ ब्याग ४ थान, वासुला, ह्यामर १ थान, खाद्यान्नहरू, सलाई, लाइटर, पावर चैन सोको ब्लेड २ थान लगायत बन्दोबस्तकीका सम्पूर्ण सरसामान बरामद गरिएको पनि वार्डेन पौडेलले बताए । पक्राउ परेका चारैजनालाई हिरासतमा राखिएर घटनाबारे अनुसन्धान भैरहेकाे वार्डेनले बताएका छन् ।
पछिल्लो समयमा खप्तड मध्यवर्ती क्षेत्रबाट तिलाल्लाे जातकाे रूख अवैध रूपमा काटेर चिरान गरी चाेरी निस्कारी गर्ने कार्य भैरहेको निकुञ्जले जनाएको छ ।











