मनमाेहन ठकुल्ला, डाेटी
पहिले घरकाे चुलाेचाैकाेमा मात्रै सिमित रहने महिलाहरू आजभोलि राेजगारी र अध्ययनका लागि तेस्राे मुलुकसम्म पुग्ने गरेका छन् । डाेटी जिल्लाकाे हकमा पछिल्लो तीन वर्षयता राहदानी लिने महिलाको संख्या पनि दाेब्बरले वृद्धि भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय डाेटीले दिएकाे सूचनाअनुसार आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ३ सय ६४ जना मध्य ४४ जना महिलाले राहदानी लिएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ८ सय ४८ जना मध्य १सय १ जना महिलाले राहदानी लिएका छन् । त्यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा राहदानी लिने जम्मा २ हजार ५२ जना मध्य २ सय १९ जना महिलाले राहदानी लिएकाे प्राप्त सूचनाको तथ्यांकमा उल्लेख गरेकाे छ ।
त्यसैगरी पछिल्लो तीन वर्षयता डाेटीमा राहदानी लिने महिलाहरूको संख्यालाई तुलनात्मकरूपमा अध्ययन गर्दा जम्मा
३ सय ६४ महिलाले राहदानी लिएकाे पाइएकाे छ। यसरी सबै तीन वर्षयताको तथ्यांकलाई नियाल्दा जिल्लाबाट राहदानी लिने महिलाकाे संख्या ह्वात्तै बढेकाे छ ।
याे चालू आर्थिक वर्ष २०८०/०८१ मा पनि राहदानी लिनेकाे संख्या १ हजार १ सय ४७ मध्य १ सय ६२ जना महिलाले राहदानी लिइसकेका छन् ।
त्यस्तै जिल्लाबाट राहदानी लिने पुरूषकाे संख्या पनि दाेब्बरले वृद्धि हुँदै गएकाे जिल्ला प्रशासन कार्यालय डाेटीले दिएकाे सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार पछिल्लो समयमा महिलाहरू काम र अध्ययनकाे सिलसिलामा जानेक्रम जारी रहेकाे बताउनु भयाे ।
सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेकाे संस्था निड्स नेपालका सह- निर्देशक प्रकाश मडैका अनुसार अधिकांश महिलाहरू तेस्राे मुलुकमा अध्ययनकाे लागि जाने गरेकाे भएपनि तर पछिल्लो समयमा कतिपय महिलाहरू तेस्राे मुलुकमा कामकाे सिलसिला पनि जाने क्रम बढिरहेको बताउनु भयाे ।











