सुवास नेपाली,डाेटी
एक दशक अघि ऋणको भारले च्यापेर कामको सिलसिलामा भारत जान निस्केकाका शिखर नगरपालिका वडा नम्बर ४ मुडभरका नवराज जोशीलाई उनका छिमेकी पर्ने एक जनाले भारत नजान सल्लाह दिँदै डडेल्धुराको स्याउले रोके । त्यस पछि आफ्नै ठाउँमा केही गर्छु भन्दै आफूसँग भएको केही पैसा र बैङ्कको ६ लाख ऋण जम्मा गरी २०७३ सालमा बोइलर कुखुरा पालन सुरु गरे । कुखुरा व्यवसाय सुरु गरेको पहिलो लटको आम्दानी लिन नपाउँदै खोर माथि बाट आएको पहिरोले खोर र कुखुराका चल्ला पुरिए । आफूसँग भएको पैसा र बैङ्कको ऋण काढेर सुरु गरेको व्यवसाय तहसनहस भए पछि पहिरो सँगै आफ्ना सपना पनि पुरिएको दुखेसो जोशीले पोखे ।
पहिरोले पारेको क्षतिले विक्षिप्त बनेका जोशी राहतका लागी विभिन्न निकायहरूमा पुग्दा पनि राहत नपाएको गुनासो उहाँले पोख्नुभयो ।जेनतेन गरेर फेरि त्यही व्यवसाय सुरु गरेका जोशीले त्यसको केही महिना पछि हुर्किएर बजार सम्म पुर्याउन तयार भएका कुखुरा रोगका कारण पटापट मर्न थाले पछि त्यस घटनाले आफूलाई झनै विक्षिप्त पारेको उहाँले सुनाउनु भयो । त्यस घटनाले कुखुरा पालन व्यवसाय प्रति वितृष्णा जागेको उहाँले सुनाउनु भयो ।
एकातिर बैङ्कको किस्ता तिर्नु पर्ने र अर्को तिर घर व्यवहार चलाउनु पर्ने कुराले मनमा अनेक तरङ्ग ल्याइदिएको दुखेसो उनले पोखे । अनेक दुख, कष्ट र समस्याका पर्खालहरू दिनानुदिन बढ्दै जाँदा पनि आफू विचलित नभई समस्या समाधानको बाटो पहिल्याउने क्रममा २०७९ सालमा कृषि विकास निर्देशनालय राजपुर पुगेको जोशीले बताउनुभयो ।
निर्देशनालयमा आफू कृषि व्यवसाय गर्ने प्रस्ताव लिई गएको र आफूलाई निर्देशनालयका निर्देशक यज्ञराज जोशीले पहिलो पटकमै कृषि सम्बन्धी अवलोकन भ्रममा नेपालगन्ज, पोखरा लगायतका ठाउँमा घुम्ने दिई आफ्नो सफलताको पहिलो खुड्किलोको सुरुवात भएको उहाँले बताउनुभयो । विभिन्न ठाउँको भ्रमण पश्चात् आफू फुल खेती गर्न इच्छुक भएको कुरा निर्देशक जोशीलाई सुनाए सँगै दुई मुठ्ठी कलकत्ते सयपत्री फूलको बिउ उपलब्ध गराएको उनी सम्झन्छन् ।
सुरुमा फुल खेती सुरु गर्दा वरपरकाका छिमेकी हाँस्ने गरेको उहाँले बताउनुभयो । त्यही दुई मुठ्ठी फूलको बीउ लिई करिब ३ रोपनी क्षेत्रफलमा फुल खेती सुरु गरेका जोशीले पहिलो ६ महिनामै १ लाख २५ हजार आम्दानी गर्न सफल भए । पहिलो पटकमै लाखौँ आम्दानी भए पछि एकातिर जोशीले फूल खेती बिस्तार गर्ने सोच बनाएका छन् भने अर्कोतिर उनको सिको गर्दै सुरुवाती चरणमा हाँस्ने छिमेकीहरू पनि फूल खेती गर्न हौसिएका छन् ।
बेमौसममा पनि फूल उत्पादन गर्ने गरेका कारण जिल्लामा हुने सभा,समारोहहरूमा फूलका लागी माग आउने गरेको पनि जोशीले सुनाए । जिल्लामा नेकपा एमालेको कार्यक्रममा मात्रै १ सय १० किलो फुल बिक्री भएको उहाँले सुनाउनुभयो ।
जोशीको फूल खेती तर्फको लगनशीलता देखेर कृषि विकास निर्देशनालयका निर्देशक जोशीले केही प्राविधिक सामग्री तथा प्राविधिक सेवा टेवा पनि उपलब्ध गराउनु भएको छ। कृषि पेसामा लागेर जिल्ला उदाहरणीय किसान बन्ने उहाँको सपना रहेको छ । कृषि पेसालाई अझ अगाडि सार्न आफ्नो आर्थिक अवस्था धेरै बलियो नभएको र आफूलाई सहयोग गरिदिन समेत सरोकारवाला निकायहरू सँग आग्रह पनि गरेका छन् ।











