मनमोहन ठकुल्ला, डोटी,
डोटीको केआईसिंह गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पताल भवन निर्माण कार्य अलपत्र अबस्थामा रहेको छ । अस्पतालको निर्माणको ठेक्का पाएको कम्पनीले १ करोड ४० लाख पेस्की लिएर सम्पर्क विहीन भएपछि पालिकाको वडा नम्बर ४ बोगढीडाँडा निर्माण हुने लागेको अस्पताल अलपत्र परेको केआईसिँह गाउँपालिकाको आरोप छ ।
पालिकाको उक्त आधारभूत अस्पताल भवन निर्माणको लागि के. एस., तेडी, मणिले जे.बी कम्पनी धनगढीले ठेक्का पाए संगै विस २०७८ असार २३ गते दुई वर्ष भित्र निर्माण कार्यको सम्पन्न गर्ने गरि सम्झौता भएको गाउँपालिका सुचना अधिकारी पुष्पराज भट्ट बताएका छन् । म्याद सकिएपछि फेरि म्याद थप गरेको सात महिना बितिसक्दा समेत उक्त कम्पनीका ठेकेदार दिल बहादुर ओलीले काम सुरू नगरेको सूचना अधिकारी भट्टले बताए ।
८ करोड १५ लाख ८५ हजारमा निर्माण हुने उक्त अस्पताल निर्माणका लागी ठेक्केदारले १ करोड ४० लाख पेस्की लिएको भएपनि अहिले सम्पर्क विहिन भएको सुचना अधिकारी पुष्पराज भट्ट बताए । उनले भने – “खै के कारणले हो काम लथालिङ्ग अबस्थामा छ, अब यदि काम सुरू नगरेपछि अर्काे ठेकेदारलाई ठेक्का दिने योजनामा छौँ ।”
गत असार महिनामा सम्झौता मिति सकिसक्दा समेत ठेकेदारले अस्पताल निर्माण कार्य ठप्प राखी बेवारिसे अबस्थामा छोडेको गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको आरोप छ । अस्पताल निर्माण कार्य करिव १५ प्रतिशत मात्रै भएको अध्यक्ष शाही बताउन्छन् । उनले भने – “यो ठेकेदारले हामीलाई डुबाउने काम मात्रै गरिरहेको हो जस्तो लाग्दैछ, तैपनि भेटेर धनगढीमा कुरा गर्छु, अब काम सुरू होला जस्तो छैन्, अब अस्पताल निर्माण कार्यको लागि प्रक्रिया अगाडि बढाएर अर्काे कम्पनीलाई दिनु पर्ला जस्तो छ ।”
ठेकेदार ओलीले अस्पताल निर्माण गर्न भनी ल्याइएको सरिया तथा अन्य सामाग्री अन्तै दिएको अध्यक्ष शाहीको आरोप छ । शाही भन्छन् – “म त बुझ्नै सकिरा छैन, किन रोकियो काम ? अनि अस्पताल निर्माणको सामान किन अरूलाई दियो ? फेरि बाँकी सामान र सवारीसाधन अलपत्र छोडेर सम्पर्क विहीन छन् ।”
यस विषयमा ठेक्केदार कम्पनीसँग बुझ्दा नक्सा अनुसारको जमिन नपुगेको जिकिर छ । उक्त निर्माण कम्पनीका ठेकेदार दिल बहादुर ओली भन्छन् – “पहिले नक्सा अनुसारको जमिन पुगेन र पछि गाउँपालिकाले ५० लाखको विल माग्दा विल उठाउन आनाकानी गर्यो ।” निर्माण क्षेत्रमा सामानहरू पु¥याए पनि आर्थिक मन्दिका कारण अस्पताल निर्माण कार्य अगाडि बढाउन नसकेको ठेकेदार ओली स्वीकार गरेका छन् । ओली भन्छन् – “अस्पताल निर्माण कार्य अगाडि नबढ्नुमा मेरो मात्र होईन गाउँपालिकाको पनि कम्जोरी रहेको छ । अब ८÷१० दिन भित्र फिल्डमा पुगेर काम सुरू गर्छु ।” अस्पताल निर्माण कार्यको लागि ल्याएको सामान अन्त दिएको भन्ने विषयमा गाँउपालिकले आफु माथी आरोप मात्र लगाएको जिकिर गरेका छन् ।
ठेक्काको समयमा सिमा सकिएपछि वा ठेक्केदार सम्पर्कमा नै नआउने भएपछि स्थानिय सरकारका लागी प्रसस्त कानूनी बाटोहरु खुल्ला नै थियो । ठेक्केदारले काम नै नगरेपछि काम गराउनका लागी आग्रह गर्ने कार्यसँगै कानूनी बाटोमा समेत जान सकिन्थ्यो । अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रको निर्माण कार्यमा ढिलाई भएपछि गाँउपालिका चनाखो बन्नु पथ्र्यो ।
जग्गादाताकाे दुखेसो
गाँउपालिकामा अस्पताल बन्ने भएसंगै अस्पताल निर्माणका लागी आफ्नो बाबुबाजेको नासोको रुपमा रहेको जग्गा अस्पताल निर्माणका लागी दान गरेको भए पनि अहिले सम्म उक्त जग्गामा अस्पतला बन्न नसक्दा हिनता बोध हुने गरेको जग्गा दाताहरुको जिकिर छ ।
जग्गा दाता मनिराम पाठक भन्छन् – “२०७३ सालदेखि सबै प्रक्रिया मिलाएर २०७७ सालमा जनहितको लागि ३ भाइ मिलेर ९ रोपनी अस्पताल निर्माण भनी जग्गा दान गरेका थियौँ, जुन उदेश्यले दिएका थियौँ त्यो उदेश्य पूरा भएन, हिनता बोध भईरहको छ ।” स्थानिय झिमेमालिका माध्यमिक विद्यालयमा शिक्षण पेशा रहेका पाठक थप्छन् – “अस्पताल रोकिने हो भनेर सबैका हितका लागि जग्गा दान गरि सुम्पिएका थियौ । पालिका बेखबर छ, ठेकेदार बेपत्ता छ, जग्गा बाँझो छ ।”
खेतीयोग्य जमिन जुन उदेश्यका लागी दान दिएको हो सो उदेश्य पुरा नहुदा खिन्नता लागेको अर्का जग्गादता डिल्लीराम पाठकको भनाई छ । खेतीपाती भई रहेको खेतीयोग्य जमिन अहिले बाँझो देख्दा खिन्तता बोध भएको उनको भनाई छ । डिल्लीराम भन्छन् – “ठिकै छ तीन भाइ मिलेर जग्गा दान गरेपछि स्वास्थ्य जस्तो पवित्र ठाउँ बन्छ भनेर जग्गा दान गरेका थियौं तर अस्पताल बन्ने कुनै ठेगान छैन् । आफ्नो पूर्खाको नाम रहोस् र घर आगनमा अस्पताल बनोस् भनेर दिएको जग्गा बाँझो छ ।”
डिल्लीराम थप्छन् ” दान गरे तर अस्पताल बनेन, मन पिराेल्लिएकाे छ, सायद कान्छाे भएर हाेला, सारै चित्त दुखेकाे छ , उल्टै अस्पतालाई दिएकाे जग्गा भन्दा बढी मिचेर बाटाेसहित लियाे त्यसमा केही मानेकाे थिएन, बुवाकाे सपना पूरा गरे जस्तो लाग्थयाे, के गर्नु अस्पताल बनेन दुख लाग्छ ।”जग्गा दाताहरु भन्छन् – अस्पताल छोटो बनोस् र सबैले सेवा पाउन ।











