मनमाेहन ठकुल्ला, सिलगढी / डोटी जिल्लाको पुर्विचौकि गाउँपालिका वडा नं ७ मा अबस्थित एक घरमा आगलागी भएकाे छ । बुधबार दिउँसो २ बजेकाे समयमा साेही ठाउँ गजडाका प्रेम बहादुर दमाइको घरमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगलागीबाट घरमा रहेको नगद १ लाख ८० हजार जलेर नष्ट भएकाे छ । घरमा रहेकाे अनाज,लुगा कपडा ,भाँडाकुँडा लगाउन घर जलेर पूर्ण रूपमा नष्ट भएकाे श्रीवास्तवले बताएका छन् । उक्त खरले छाएकाे घरमा भएकाे आगलागीबाट अनुमानित ३ लाख बराबरकाे क्षति भएकाे छ ।
घरमा आगलागी भएकाे २ घण्टा पछि मात्र प्रहरीलाई खबर भएकाे हाे । आगाेलाई स्थानीयले नियन्त्रणमा लिएकाे प्रहरी उपरीक्षक श्रीवास्तवले बताएका छन् ।
दिउँसो घरमा काेहि नभएकाे बेला अगेनामा बालेकाे आगाेले खरलाई छाेएपछि आगलागी भएकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ । प्रेमकाे परिवार अहिले छिमेकीकाे घरमा बसेकाे छ ।











