सिलगढी / नेपाली आकाशमा अहिले पश्चिमी वायु फेरि सक्रिय भएको छ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता नेपाली आकाशमा कुनै मौसमी प्रणालीको कुनै प्रभाव थिएन। तर शनिबारदेखि फेरि पश्चिमी वायुको आंशिक प्रभाव देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार सोही वायुको प्रभावका कारण आज पहाडी भेगमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हिमपात तथा तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने जनाएको छ ।
आज आइतबार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ र, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।











