मनमाेहन ठकुल्ला, सिलगढी
हिमाली क्षेत्रमा चिसाे सुरू भएसँगै भेडापालक किसानसहित भेडाका बथान पहाडी जिल्ला झरेका छन् ।
सुदुरपश्चिम प्रदेशकाे हिमाली जिल्ला बाजुराका भेडापालक किसानसहित भेडाका बथान डाेटी जिल्लाका विभिन्न ठाउँहरूमा छरिएर रहेका छन् । हिमाली क्षेत्रमा अत्यधिक हिमपातसहित चिसाे बढ्न सुरूभएपछि भेडा चराउन समस्या हुनेभएकाले भेडीगोठ बेसी सार्नु परेको बाजुरा जिल्लाका बुढीनन्दा नगरपालिका पाँडुशैनकी लक्ष्मी थापाले बताइन् ।
हिउँदे माैसममा हिमाली भेगमा हिउँ पर्दा भेडालाई आहारकाे समस्या हुने भएकाले वगतदेखि हिँउदे माैसममा भेडीगाेठ पहाडी क्षेत्रका जिल्लामा सार्दै आएकाे लक्ष्मीले बताइन् ।
कात्तिकदेखि फागुनसम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बाजुरा पाटन क्षेत्रका भेडी गाेठ रित्ता हुने गरेकाे अर्का बाजुरा बासी साेनाम थापाले बताए । आफूहरूकाे विगतदेखिकाे प्रमुख पेसा भेडापालन रहेकाले प्रत्येक ४ / ४ महिनामा भेडीगाेठ सार्दै आएकाे थापाले बताएका छन् । हिउँदे माैसमा पहाडी जिल्लाका सामुदायिक वनमा पुर्जी काटेर बस्ने गरेकाे उनले बताएका छन् ।
भेडाका बथान वर्तमान समयमा डाेटी जिल्लाका लेकाली तथा ओैलका ( तल्लाे) भेगहरूमा छरिएर रहेका स्थानीयले बताएका छन् ।











