मनमाेहन ठकुल्ला , डाेटी
कार्तिक महिना मध्यरात । एकाएक जमिन कम्पभयाे । खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निट्यूड भुकम्पले पूर्वीचाैकी गाउँपालीका गैरागाउँ काडामाण्डाै क्षेतविच्छेद बनायाे । ६ जना मानिसकाे ज्यान लियाे, ७ जनालाई गम्भीर घाईते बनायाे । भुकम्पकाे पीडा संगै राहत तथा उद्वार कार्य सुरु भयाे । केहि संघसंस्थाहरु तत्काल पिडामा मलम लगाउन राहत स्वरुप केही सामाग्री वितरण गरेकाे देखिए पनि आफ्नै स्थानिय सरकारले भने कुनै प्रकारकाे राहत वितरण गर्न सकेन ।
२०७९ कात्तिक २३ गते, मध्यराती २ बजेर १२ मिनेटकाे समयमा गएकाे भुकम्पका कारण पिडित बनेका गैरागाउँ र काँडामाण्डाैँका स्थानियहरु अहिले पनि चिसाेमा रात काट्न बाध्य रहेका भएता पनि पूर्वीचाैकी गाउँपालिकाले भुकम्प प्रभावित बस्तीमा राहत स्वरुप एक रूपैयाँ खर्च गरेन भन्दा अचम्म लाग्न सक्छ, तर गाँउपालिकाले हामीलाई उपलब्ध गराएको सूचना अनुसार रकम खर्च नगरेको प्रष्ट देखिन्छ । ।
भुकम्प पिडितहरुकाे अबस्था अहिले पनि कहाली लाग्दाे भएपछि उक्त विषयमा अध्ययन गर्ने क्रममा पूर्वीचाैकी गाउँपालिका बाट हामीले सूचना माग गरेको थियौ । हामीले प्राप्त गरेको सूचना अनुसार गाउँपालिकाले प्रभावित क्षेत्रमा कुनै राहत तथा पुनस्थापनामा खर्च नगरेकाे पाईएकाे हाे ।
गाउँपालिकाले सुपअनलाईन उपलब्ध गराएकाे सूचनामा केही संघसंस्थाहरुले राहतका विभिन्न सामाग्रीहरु आफै वा गाउँपालिका मार्फत हस्तान्तरण गरिएकाे भए पनि आफुहरुले कुनै रकम खर्च नगरेकाे सुचना दिएकाे छ । सूचना अनुसार आफूहरुले कुनै पनि राहत सामाग्री वितरण नगरेकाे तर ढुवानी खर्च भनेर २ लाख १५ हजार खर्च गरेकाे देखाएकाे छ ।
संघसंस्थाबाट राहत वितरण
गाउँपालिकाले आफै स्वयमले कुनै राहत वितरण नगरेकाे भए पनि अन्य सहयाेगी संस्था र दाताहरुबाट उक्त भुकम्प प्रभावित क्षेत्रमा २ हजार १ सय ६६ त्रिपाल वितरण गरिएकाे सूचनामा उल्लेख छ । त्यस्तै संस्थागत क्षेत्रबाट खाद्य सामाग्री र लुगा कपडा ततकाल २ सय ६५ परिवारलाई वितरण गरेकाे देखिएकाे छ भने सरसफाइ सामाग्री ४ सय ५० परिवारलाई वितरण गरेकाे प्राप्त सूचनामा उल्लेख छ । त्यसैगरी जस्तापाता भिएसओबाट २५ बण्डल वितरण गरेकाे छ भने ढुवानी खर्च चाइना फाउन्डेसन र भिएसओले गरेकाे छ ।
सूचना अधिकारी गगन भण्डारीले हस्ताक्षर गरि उपलब्ध गराएकाे सूचनाका आधारमा पूर्वीचाैकी गाउँपालिकाले भुकम्प प्रभावित बस्ती गैरागाउँ र काँडामाण्डाैँ लगायतका क्षेत्रमा पालिकाकाे तर्फबाट राहत स्वरुप कुनै सामाग्री वितरण नभएकाे देखिएकाे छ ।
भुकम्पले कयाै सपनाहरु लुटेर लगेता पनि आफूहरुले खुल्ला आकाशमा वा आफन्तीकाे आश्रयमा बस्नुकाे पीडा देखाउनै नसकिने रहेकाे पिडितहरु बताउन्छन् । संघिय सरकार, प्रदेश सरकार मात्र नभई आफ्नै स्थानिय सरकारले समेत आफुहरुकाे पिडामा वर्षाैँ बितिसक्दा समेत मलम लगाउन नसकेकाे पिडितहरुकाे आराेप छ । आफुहरुले घरआगनकाे सरकारबाट समेत सहयाेग नपाउँदा कतिपय भुकम्प प्रभावित बस्तिका स्थानीय मिलेर आफै घर बनाउन लागि परेका स्थानिय बताउन्छन् ।












