सिलगढी / गत कार्तिक ९ गते बिहीबार डोटीको शिखर नगरपालिका–६ तिलतालि स्थित सेती नदीमा गत महिना एक नवजात शिशुको बेवारिसे शव फेला पर्यो ।
साँझपख सेती नदीमा पानी जमेको ठाउँमा ८/९ महिनाको जस्तो देखिने शव फेला पर्दै गर्दा प्रहरीलाई खबर प्राप्त भयाे । बेवारिसे शिशु फेला परेकाे ४९ दिन बितिसक्यो । यतिका दिन बितिसक्दा पनि शव व्यवस्थापन गर्नतिर कसैको ध्यान नजाँदा
त्यसबेला देखि शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ ।
घटनाबारे प्रहरी अनुसन्धानले अझै पनि त्याे शिशु कसले, किन र कसरी फालेको हो भन्ने कुराकाे एकिन गर्न सकेकाे छैन् ।प्रहरीले गर्नुपर्ने कर्तव्य पूरा गरिसक्दा पनि घटनाकाे कुनै तथ्य प्रमाण भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार शवको व्यवस्थापन गर्ने कार्य प्रहरीको नभएको बताएकाे छ । कानुन अनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ काे दफा १५ र १६ बमोजिम जिल्लामा प्रमुख प्रहरीको अध्यक्षतामा पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन जिल्ला समिति गठन हुन्छ । निर्देशिकामा पहिचान नभएका तथा बेवारिसे शवलाई सम्बन्धित प्रहरी कार्यालयले समितिको निर्णय बमोजिम स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सामाजिक सङ्घसंस्थाको रोहवरमा स्थानीय तहको समन्वयमा अन्त्येष्टि गरी सोको विवरण राख्नुपर्ने उल्लेख छ । शव व्यवस्थापनमा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले सम्बन्धित प्रहरी कार्यालयको समन्वयमा गर्नुपर्ने हुन्छ ।
उल्लेख बमोजिम कानुनलाई टेक्दै प्रहरीले आवश्यक कामकाे लागि शिखर नगरपालिकालाई अगाडी नै पत्र पठाएको प्रहरीले सूचना मार्फत जानकारी दिएकाे छ ।
शव व्यवस्थापनका विषयमा शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरसँग कुराकानी गर्दा शव व्यवस्थापन गर्ने काम आफूहरूको नभएको जिकिर गरेका छन् । उनले भने व्यवस्थापनका लागि आवश्यक सहजीकरण गर्न सक्ने बताउनु भएकाे छ ।
त्यस्तै शवको समयमै व्यवस्थापन नहुँदा अस्पतालकाे शव गृहमा थप समस्या भएकाे जिल्ला अस्पताल डोटीका व्यवस्थापन समिति अध्यक्ष धन बहादुर बताउनु भयाे ।











