कञ्चनपुर / कञ्चनपुर जिल्लामा इन्जिनियरलाई कुट्ने एक ठेकेदारलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिकामा कार्यरत इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी (ठेकेदार) भीमसेन रानालाई प्रहरीले पक्राउ गरेकाे हाे । कुटपिटमा संलग्न ठेकेदार रानालाई पक्राउ गरी अहिले थुनामा राखेर अनुसन्धान भइरहेको छ ।
शुक्रबार रानालाई छलफलका लागि इलाका प्रहरी कार्यालय कञ्जमा बोलाएर नियन्त्रणमा लिएको जनाएको छ । पिडित अवस्थीले निर्माण व्यवसायी राना बिरुद्ध उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएकाे प्रहरी स्राेतकाे भनाइ छ ।
ठेकेदार रानालाई इलाका प्रहरी कार्यालय बेलौरी थुनामा राखिएको छ। रानालाई अभद्र व्यवहार उजुरीमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्राेतका अनुसार गत सोमबार इन्जिनियर अवस्थीमाथि ठेकेदार राना समुहले कुटपिट गरेका थिए। गत बर्ष निर्माण व्यवसायी रानाको निर्माण कम्पनी कन्दकला कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लालझाडी गाउँपालिका–२ कञ्जमा सडक कालोपत्रेको ठेक्का पाएको खुल्न आएकाे छ ।
पिडितका अनुसार उक्त ठेक्कामा गुणस्तहीन काम भएको भन्दै इन्जिनियर अवस्थीले प्रश्न उठाएपछि आफूमाथि कुटपिट भएको प्रहरी समक्ष जिकिर गरेका छन् ।
तर निर्माण व्यवसायी रानाले भने इन्जिनियरलाई कुटपिट गरेको विषयलाई अस्वीकार गरेका छन्। उनले योजनाको सुरुवाती चरणदेखि नै इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको र सोही विषयको छलफलका क्रममा सामान्य धकेलाधकेल मात्रै भएको प्रहरी समक्ष बताएका छन् ।











