सिलगढी / डोटीको सायल गाँउपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ ।
बुधबार च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोग र गाँउपालिकाकाे सहकार्यमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएकाे हाे ।
अब आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै जिल्लाकाे अति दुर्गम सायल गाउँपालिकाका नागरिकले आँखा उपचार सम्बन्धी सेवा पाउने च्यारिटी हेल्थ फाउण्डसेनका संस्थापक सदस्य दीर्घराज उपाध्याय बताएका छन् । अब नागरिकको आँखामा सामान्य समस्या हुदा पनि उपचारका लागि धनगढी जानु पर्ने बाध्यता हट्ने उपाध्यायले बताएको छ ।
सामान्य असाबधनी र समयमा आँखाको उपचार नहुदा दृष्टि बिहीन हुने जोखिम हुने भएकोले पनि दुर्गम सायल गाँउपालिकाका नागरिकलाई गाँउमै समयमै सेवा दिने हेतुले आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाले जानकारी दिएकाे छ ।
आँखा उपचार केन्द्रको स्थापनाले स्थानीय बासिन्दाले आँखामा सामान्य समस्या हुदा उपचारका लागि दीपायल र धनगढी जानु पर्ने समस्या समाधान हुने सायल गाँउपालिकाका अध्यक्ष धर्मराज जोशीले बताएका छन् । गाँउपालिकाबाट धनगढी जादा गाडी भाडा र आवात जावतमै १० हजार रुपैया भन्दा बढि खर्च हुने भएकाले त्याे समस्यालाई मध्यनजर गरेर सेवा प्रवाह गर्ने अध्यक्ष जाेशीले बताए ।
पहिले भाैगाेलिक तथा आर्थिक अभावका कारण जिल्ला बाहिर आँखाकाे उपचार गर्न जान नसक्ने नागरिक अब सहजै गाउँपालिकामै आँखाकाे उपचार पाउँदा लाभान्वित हुने भएका छन् ।











