मनमाेहन ठकुल्ला
सिलगढी,
सुदुरपश्चिम प्रदेशकाे प्रसिद्ध धार्मिक स्थल डाेटी शैलेश्वरी जात्रा सफलताका साथ सम्पन्न भएकाे छ ।
आज (साेमबार) कार्तिक स्नान समाप्ति तथा पूर्णिमाका दिन भव्य पूजाआजाका साथ गाेधुलीमा गाज नाचेर सम्पन्न भएकाे हाे ।
कार्तिक १० गते बिहान भगवतीका सम्पूर्ण श्रृङ्गार देउताद्वारा दुधले धाेएर शुद्धीकरण गर्दै साेहि दिन चतुर्दशीकाे साँझ शिव बैकुण्ठकाे विशेष पूजा गरि सुरू गरिएकाे जात्रा आज पाठपूजाकासाथ सम्पन्न भएकाे शैलेश्वरी क्षेत्र विकास समितिले जानकारी दिएकाे छ ।
जात्रा अनादिकाल देखि चल्दै आएकाले उक्त दिनमा विशेष पूजा गरिन्छ । जात्रा अगाडि धामी गाँउ र सिल गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु हुने गर्दछ ।
शैलेश्वरीले पाैराणिक महत्त्व बाेकेकाे भएकाले विश्व कल्याणकाे लागि जात्रा मनाइने गरेकाे शंलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताउनु भएकाे छ । उक्त जात्रामा स्थानीय तथा छिमेकी जिल्लाका भक्तजनहरूकाे ठूलाे घुइँचो थियाे ।
शैलेश्वरी मन्दिरमा प्रत्येक १२ वर्षमा काेटि हवन (कुम्भ) मेला लाग्ने गर्दछ ।











