सिलगढी/ डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको घटना स्थलमा मृत्यु भएको छ भने ५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले बताएकाे छ ।
धनगढीबाट बाजुरा तर्फ जाँदै गरेकाे ग २ च २७७६ नम्बरको बोलेरो जिप गए राती करिब साढे २ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत शिखर नगरपालिका वडा नं. ६ अण्यौलमा भन्ने स्थानमा दुर्घटना परेकाे हाे । दुर्घटनामा परि मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका ५ बस्ने बर्ष २२ कि राधिका मलाल, बर्ष ३२ कि धनशोभा बुढा, बर्ष ६ को कबिन्द्र बुढा र ८ महिनाको बालिका प्रार्थना मलाल रहेको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
त्यस्तै घाइते हुनेमा बाजुराको हिमाली गाउँपालिका ५ बस्ने बर्ष २१ कि बिमला मलाल, बर्ष ३० को प्रकाश बुढा थापा, बर्ष २३ को खोम बहादुर मलाल, बर्ष २४ को दान बहादुर बुढा र बर्ष २१ को राज बहादुर मलाल रहेका छन् । घाइतेहरुकाे डोटी दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त जिप एक्कासी अनियन्त्रित भइ सडकबाट करिब ५०/६० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएकाे प्रहरीले जनाएकाे छ । उक्त जिपका चालक बाजुरा गौमुल गाउँपालिका वडा न ०४ काडाकोट बस्ने बर्ष २१ का महेश बुढालाई प्रहरी नियन्त्रणमा राखेकाे छ ।











