डाेटी / आज कात्तिक ११ गते शनिबार, आश्विन शुक्ल पूर्णिमा तिथि, काेजागर्त पुर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार आज राति १:१९ बजे स्पर्श अर्थात सुरु हुनेछ भने राती २:३८ बजे माेक्ष अर्थात समाप्त हुनेछ । आज लाग्ने चन्द्रग्रहणका लागि दिउसाे ४:१९ बजे देखी सुतक सुरु हुनेछ । सुतक सुरु भए पछि बालक, बृध्द , विरामी र गर्भवती बाहेक अरुले दाेष बार्नु पर्ने र उक्त समय देखि ग्रहण नसकिदा सम्म अन्न, भाेजन, पानी खान बर्जित रहेकाे समितिले स्वीकृत गरेकाे पात्राेमा उल्लेख गरिएकाे छ ।
आज बडादशैकाे अन्तिम दिन समेत रहेकाेले घरघरमा राखिएकाे जमरा सेलाउने कार्य गर्नु पर्ने हुन्छ भने साझकाे समयमा काेजाग्रत पुर्णिमा अर्थात लक्ष्मीकाे पुजा गरिने परम्परा समेत रहेकाे छ । तर आज नै ग्रहण लाग्ने भएकाे र ग्रहणकाे दाेष अर्थात सुतक लाग्ने समय भन्दा अगाबै रात्रीकालिन समयमा गर्नु पर्ने पुजा अगाबै गर्नु उत्तम हुने विभिन्न ज्याेतिषहरुले बताएका छन् । ग्रहणकाे समयमा जप ध्यान स्नान गर्नुलाई उत्तम हुने भए पनि पुजा गर्नु उपयुक्त नहुने ज्याेतिषहरुकाे मत रहेकाे छ । शास्त्रीय मान्यता अनुसार ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । त्यस्तै दीक्षा मन्त्र लिन पनि याे समयलाई उत्तम मानिन्छ ।
ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको छ । त्यसैले ग्रहणका समयमा बर्जित गरेकाे कार्य नगर्नु शुभ हुने धर्मिकगुरुहरुकाे मत छ ।