डाेटी / आज विजया दशमी नवदुर्गाको प्रसाद मान्यजनको हातबाट शुभ साइतमा रातो टीका जमरा लगाउदै मनाईदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ भने टिकाग्रहणका लागी बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। साईत नै खाेज्नेहरुका लागि उक्त समेत दिईएकाे हाे ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बाबु, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
पुरुषहरुलाई टीका लगाईदिदा भनिने मन्त्र :
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।
महिलालाई दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।