कैलाली / भाेली कार्तिक १ गते (बुधबार ) बाट कैलालीमा निर्माण गरिएकाे गेटा अस्पताल सञ्चालनमा आउने भएको छ ।
अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध मिलाइसकेपछि भोलि कार्तिक १ गतेबाट अस्पतालले आवश्यक सेवा सञ्चालन गर्ने भएकाे हाे। उक्त अस्पताल एक सय बेड क्षमताको भएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे ।
गेटा अस्पतालमा ओपिडी स्थापना गरि सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको जानकारी दिएकाे छ । सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन भएकाे पत्रकार सम्मेलनमार्फत अस्पतालले जानकारी दिएकाे छ । अस्पतालमा २६ जना निर्देशकसहित स्वास्थ्यकर्मी हाजिरी भैसकेका छन् ।
नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि मात्र अस्पताल सञ्चालन आउन सकेकाे हाे । अस्पतालबाट सेवा प्रवाहका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना स्वास्थ्यकर्मी रहेकाे अस्पतालले जनाएकाे छ ।
भाेलिदेखि अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा प्रवाह गर्ने भएकाे छ ।
अब लगाताररूपमा याेजना बद्व ढंगले अस्पतालले स्तरउन्नति गर्ने भएकाे छ । एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने याेजना रहेकाे छ ।
यस अघि सेती प्रादेशिक अस्पतालमा जाने बिरामीले सहजै स्वास्थ्य उपचार पाउन कठिनाइ खेप्नु परेकाे थियाे । सेवा पाएपनि अगाडिकाे मेडिकल बजारले घरेकाे भएकाले सेती प्रादेशिक अस्पतालमा परामर्श बाहेक अरू केही नपाएकाे र सबै स्वास्थ्य उपचार मेडिकल बजारमा गरेर आउनु परेकाे अबस्थामा बिरामीहरूबाट गुनासाे आउथ्याे ।
अब गेटा अस्पतालबाटै सहज रुपमा उपचार सेवा पाउने भएका छन्। गेटा अस्पतालमा क्रमिक रुपमा बेड संख्यासंगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाइएको छ।