
काठमाण्डौ / रिगल भनिने योगराज ढकालको कैद मिनाह विरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।
कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिई फर्कने क्रममा सर्वोच्च अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको हो ।
श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं पुगेकी छिन् । श्रीमानको हत्या गर्नेलाई पुनः जेलमा पठाउनुपर्ने माग सहित भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलामा अनशन सुरू गरेकी हुन् ।
नवौँ संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।
हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले ०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
रिगलमाथि ०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।