बैतडी/ बैतडीको झुलाघाट नाका बन्द भएकाे छ । भारतसँग सिमाना जाेडिएकाे महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि अर्को सूचना जारी भएसम्मका लागि नाका बन्द गरिएकाे हाे ।
पुलको भारतीय सिमानातर्फ काठकाे बेस लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले सीमा नाकामा आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो । आजसम्म पनि मर्मतको काम नसकिएको भन्दै मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुलमा आवतजावत दैनिक रूपमा बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म बन्द हुने भएकाे छ ।
भारतिय क्षेत्रमा पुलमा नाेक्सानी भएपछि भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको छ । यस अघि नेपाल–भारत समन्वय बैठक बसेको बेला पुललाई मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबिच सहमति भएको थियो।
इष्ट इन्डिया कम्पनीले झुलाघाट नाकामा करिब डेढ सय वर्ष अगाडि निर्माण पुल निर्माण गरेकाे हाे । पुल पुरानाे भैसकेकाले जीर्ण हुँदै गएकाे छ । पुल पुरानाे भएकै कारण वर्तमान समयमा बेलाबेलामा मर्मत गरिरहनु परेकाे छ ।
पुरानो काठको पुल भारतीय पक्षले बेलाबखतमा काम चलाउको लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा दैनिक रूपमा आवतजावत गर्ने व्यक्तिहरूले जोखिम मोल्नु परेकाे छ ।
इष्ट इन्डिया कम्पनीले निर्माण गरिएकाे उक्त नाकाकाे पुल सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाकाे पुल हाे । दुःखद कुरा वर्तमान समयसम्म झुलाघाटस्थित महाकाली नदीमाथि पक्की पुल नहुँदा उक्त जिर्ण अबस्थामा रहेकाे पुलबाट यात्रा गर्न बाध्य हुनुपरेको छ ।