
हुन्छ यहाँ जब संस्कृत झङ्कृत खुल्दछ सभ्य समाज बनी ।
भाग्दछ कल्मष चेत अकर्म अफाप सबै पर दूर पनि ।।
जीवनको गति उच्च हुने अझ प्राकृत सुन्दर बन्छ यहाँ ।
हुन्न अमानव भाव र पाप अधर्म अभाव रहन्छ कहाँ ?
।१।
हुन्छ जहाँ सहयोगसँगै करुणा उपकार सुसाध्य कुरा ।
सिद्ध हुने फल नित्य दिने अविराम अनेकन काम कुरा ।।
सत्य सुसज्जित भर्दछ इज्जत ईश्वरको गुणगान सरी ।
बेसरमी हुँदा पार्दछ लज्जित घट्छ मनोबल दोष भरी ।।
।२।
मानिस-मानिस जन्तु-जनावर कीट समस्त समान बुझौँ ।
हो अधिकार बराबर बाँच्न र हाँस्न सिकौँ कहिल्यै नजुझौँ ।।
सोच बिचार नहोस् प्रतिबन्धित आपसमा मतभेद हुने ।
खुल्दछ स्वर्ग समान खुला धरणी तब शान्त सदा रहने ।।
।३।
आदर,मान सुशोभित नैतिकत चेतन फल्छ भने मनमा ।
फुल्दछ कल्पतरु अभिमान भगाउँछ भौतिक जीवनमा ।।
सङ्कटको अपसारण मार्ग लिँदै असली लत धारणमा ।
त्याग गरौँ अझ शुद्धि फलाउन लाग्नुछ दुष्कृत तारणमा ।।
।४।
सृष्टि अनन्त छ बुझ्न छ मुस्किल छैन भ्रमात्मक तथ्य यहाँ ।
यो भवसागर चिन्दछ त्यो सजिलै जब खुल्दछ सत्य जहाँ ।।
बन्न सकौँ गहना मणितुल्य भरौँ समता ममता जगमा ।
भन्न सकौँ अब एक बनौँ रसिला कसिला सजिलै सबमा ।।
।५।
मिति :- २०७९/१०/०५/५
लेखक : डिल वहादुर महरा निजामती सेवा कार्यरत छन् ।