
शुशिला पन्त डोटी / डोटेलीमा एउटा उखान छ पहाड खानु पुजी, मधेश खानु जुधी अर्थात पहाडमा बस्नेहरु देवी देवतामा बढी विश्वास राख्ने भएका कारण पहाड बस्नेले पुजापाठ गरि खानु पर्ने र मधेषमा बस्दा परिश्रम गरि खानु पर्ने हुन्छ भन्ने मान्यता रहेको छ ।
अहिले विश्व भरी कोरोनाको महामारी फैलिएको छ । कोरोनाको संक्रमणले आफु र आफ्ना क्षेत्रका मानिसहरुलाई असर नगरोस्, संक्रमण नहोस् भन्दै डोटीको दिपायल सिलगढी नगरपालिका क्षेत्रमा स्थायी घर भई प्रवासमा बस्ने मानिसहरुले देवतालाई भाकल गरि देवताको नाममा लाखौ रकम संकलन गरेका छन् ।
छिमेकी मुलुक भारतलाई आफ्नो कर्मथलो बनाई काम गर्दै आएका उक्त नगरपालिकाको बडा नं. ४ स्थायी बासिन्दाहरुले भारतमा कोरोनाको संक्रमणदर उच्च देखिन थालेपछि आफुहरु र आफ्ना परिवार जनमा केहि नहोस् भन्दै देबताका नाममा रकम संकलन गरेको प्रवासमा बस्दै आएका बडाको कुमालीकोट बस्ने लोकेन्द्र वहादुर कठायतले बताएका छन् ।
गएको अषाढ ९ गते देखी कुमालीकोट बासीले कुल देबताको रुपमा समेत पुज्ने तेडि नेमाउने देवतालाई भाकल गर्दै चन्दा संकलन गरेको कठायतले बताए । कठायतले भने, “हामी प्रवासमा बस्दै आएका छौ, भारतमा कोरोना उच्च रुपमा देखिन थाल्यो, प्रवासमा गाह्रो अफ्ठेरो पर्दा सहयोग पुराउने उदेश्यका साथ हामीले कुमालीकोट युवा समाज नामक संगठन स्थापना गरेको छौ सोहि संगठन मार्फत आर्थिक संकलन गरेका हौ ।”
आर्थिक संकलनको नेतृत्व सोहि ठाँउबस्ने बिर वहादुर कठायतले गरेका थिए । विर वहादुरका अनुसार गएका अषाढ देखी हाल सम्म भारतिय ६४ हजार ६ सय २१ रुपैयाँ संकलन भएको छ । उक्त रकम नेपालीमा १ लाख ३ हजार ३ सय ९३ नब्य रुपैया ६० पैसा हुन आउन्छ । उक्त रकम मन्दिरको नियमित पुजा आजामा खर्च गरिनु साथै मन्दिरमा विशेष पुजाका लागी खर्च गरिने विर वहादुरले बताए ।
मन्दीरका नाममा भाकल गरि संकलन भएको रकम अन्य क्षेत्रमा खर्च गर्नु धार्मिक मान्यताको विरुद्धमा हुने भएको र आबश्यक पर्दा सहयोग रकम जुट्ने अहिलेको अर्थसंकलनले देखाएकोले आगामी दिनमा यसरी अर्थ संकलन गरि सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहने योजना रहेको लोकेन्द्र कठायतले बताए ।
कठायतले भने, “हामीलाई यति धेरै रकम संकलन होला भन्ने लागेको थिएन, हाम्रा समाजमा धेरै पिडामा रहेका मानिसहरु छन्, बालबालिकाहरु छन् हामी यस्तै अभियान संचलान गरेर संकलन हुने रकममा गाँउघर समाजको विकासका लागी खर्च गर्ने छौ । सामाजिक कार्य गर्नु पनि हामीहरुको दायित्वमा पर्दछ ।”
पछिल्लो समय सामाजिक संजालहरु बाट सहयोगका लागी अपिल गर्ने र त्यसबाट संकलन रकम निश्चत कार्यका लागी खर्च गर्ने परम्पराको विकास भएको पाईन्छ । तर यसरी संकलन हुने रकम हिनामिना हुन नदिनका लागी सम्वन्धीत पक्षले लेखाजोखा राख्न समेत जरुरी छ ।
तेडी देवताका नाममा सुरु भएको अभियान सम्पन्न भएको र अब अहिलेलाई तेडी देबताका नाममा रकम संकलन नगरिने संकलनका संयोकज विर वहादुर कठायतले बताए ।